-->

image
Hi,

I'm Rishi Parajuli

Currently working as a Research Associate of Earthquake Engineering at the University of Bristol, UK. I have more than three years of teaching and six years of full time and more five years of part time professional experience in Nepal. Before joining the University of Bristol, I was Lecturer in Institute of Engineering, TU, Nepal. I had completed my masters (2014) and PhD (2017) in earthquake engineering from Kyoto University, Japan. I obtained three years diploma course in Civil Engineering on 2004 and four years Bachelor’s in Civil Engineering degree from Tribhuwan University Nepal.

I have several experiences on civil and structural engineering, as I entered into the professional field since 2004. After 2015 Gorkha Earthquake, I have been involving on several projects for structural assessment and retrofitting design including heritage and masonry structures. Recently, I am working for SAFER project on school resilience, where disaster risk management perspective is in place.


Education
Kyoto University, Japan

PhD. in Earthquake Engineering

Masters in Structural Earthquake Engineering

Tribhuvan University, Nepal

Bachelor in Civil Engineering

Diploma in Civil Engineering


Experience
Reseacrh

University of Bristol

Academia

Tribhuvan University

Professional

IERC Pvt. Ltd [MD]

Paradise Group Pvt. Ltd. [Founder]

Design Cell Pvt. Ltd.


Interests
Seismic Hazard, Risk, Vulnerablity Assessment
Integrated Seismology and Structural Engineering
Structural Desing, Retrofit, Heritage Conservation
Multi-hazard, Disaster Risk Reduction, Management
Infrastructure, Community Resilience
Publications
Opinion/Articles/Blog

चिलिको महाभूकम्प र यसबाट नेपालले सिक्नुपर्ने पाठ

नेपाली समयानुसार १९ चैत्र २०७० बिहान करिब ५:३० बजेको समयमा दक्षिण अमेरिकी राष्ट्र
चिलिमा ८.२ रिक्टरस्केलको भूकम्पले धक्का दियो, जसका कारण करिब २ मीटर अग्लो सुनामीको छाल तटीय क्षेत्रसम्म आईपुग्यो। चिलि तटीय राष्ट्र हो साथै यो भूकम्पीय हिसाबले निकै जोखिम क्षेत्रमा पर्दछ। करिब ३ वर्ष अघि सन २०१० मा ८.८ रिक्टरस्केलको भूकम्प र त्यसपश्चात उठेको करिब १० मीटर अग्लो सुनामीका कारण करिब ५५० मानिसले ज्यान गुमाएका थिए, त्यस्तै सन १९६० मा ९.५ रेक्टरको भूकम्प तथा यसैकारण उत्पन्न सुनामीको छाल (करिब २५ मीटर अग्लो) का कारण करिब ५७०० को मृत्यु भएको थियो।
नेपाल चिलि जस्तै धेरै जोखिमयुक्त क्षेत्रमा पर्दैन तर बिगतको ईतिहास र हाम्रो अवस्थितिले करिब ८०-९० वर्षको अन्तरालमा केही ठुला भूकम्पको धक्का आउने संभावना ज्यादा रहेको अनुसन्धानहरुले देखाउँछन, हिमालय क्षेत्रमा पर्ने तिब्बति र भारतीय मुख्य चट्टानहरू बिचको सिमानामा हुने द्वन्द (एकले अर्कोलाई धकेल्ने) मा कुनै एकले हारेको दिन वा भनौं कुनै एक चट्टानले भार थेग्न नसकेको दिन दुवैको सञ्चित बल कुनै एकमाथि अर्को परेर या चट्टानहरू फुटेर बाहिर निस्कनेछ जसले चट्टानका साथै जमिन हल्लाउनेछ।
नेपालमा भूकम्पको इतिहासहेर्दा धेरै सम्झिने भूकम्प सन १९३४ (बि. सं. १९९० साल माघ २ गते) को हो, जसका कारण नेपालमा मात्रै करिब २९,४४५ ले ज्यान गुमाएका थिए जसमध्ये काठमाण्डौमा मात्रै करिब १६,८७५ को मृत्यु भएको थियो। त्यस्तै पछिल्लो उदाहरण सन २०११ को सिक्किम ताप्लेजुङ बिचमा गएको ६.९ रिक्टरको भुइचालोका कारण नेपालमा ११ जनाले ज्यान गुमाउनुपर्यो। यसबिचमा पनि २०४५ साल लगायत समयमा ठुलासाना धेरै भूकम्पहरू गइसकेका छन। फेरि पनि नेपालमा कुनै ठुलो भूकम्प दैलोमा चिहायर बसिरहेकोछ र यो कुन दिन भित्र छिर्छ यकिन रुपमा भन्न सकिने अवस्था छैन। नेपालमा भौतिक संरचनाहरूको स्थिति नाजुक छ भन्ने कुरा बिभिन्न समयमा भएका अनुसन्धानहरूले देखाएका छन। त्यसैले त्यस्तो बेला हाम्रा अहिलेका भौतिक संरचनाहरु घर, बाटो, पुल, खानेपानीका लाईन, टेलिफोन, बिजुलीका लाइनहरु लगभग पुर्णत क्षतिग्रस्त हुनेछन।
चिलिबाट सिक्नु पर्ने कुरा
केहि महिना पहिले जाईकाको अध्ययन अनुसन्धान परियोजना अन्तर्गत चिलिका केहि बिध्यार्थि करिब ३ महिना जापान बसेर संगै अनुसन्धानमा सरिक थिए र उनिहरु चिलिको एक शहर इकिक्वेमा (जुन शहरको करिब १०० कि.मि. टाढा महाभूकम्पको केन्द्रबिन्दु रहेको थियो) आउन सक्ने सुनामी र त्यसबाट बच्न सकिने सुरक्षित स्थानहरुको पहिचान गर्ने बारेमा अध्ययन अनुसन्धान गरेर फर्किएका थिए। त्यसैबेला चिलिमा अपनाईने निर्माण बिधि र निर्देशिकाका बारेमा कुरा भएको थियो। चिलिमा जुन सुकै निर्माणकार्यको लागी निश्चित मापदण्ड र निर्देशिका तोकिएको र यसको कडाइका साथ लागु पनि भएको उनिहरुले बताएका थिए। सानातिना भूकम्पहरु गइरहने ठाउमा केहि हदसम्म त लागु गरेकै होलान तर ठुलै भूकम्प आउदा त पक्कै पनि ठुलै क्षति हुनेछ भन्ने आशंकासहित महाभूकम्प गए पश्चात धेरै समय यसकै बारे समाचारहरु हेरिरहें तर भूकम्प र यसका कारण मृत्यु हुनेको संख्या ६ जनामा मात्रै सिमित रह्यो, २५०० बन्दा धेरै घरहरु क्षतिग्रस्त भए। निकै कम मानबिय क्षतिको कारण पक्कै पनि त्यहाँ कडाईका साथ लागु गरिएको भवन डिजाईन तथा निर्माण निर्देशिका हुनुपर्छ भन्ने आंकलन २ दिनपछी सिएनएन (लिंकको लागी यहाँ क्लिक गर्नुहोस) लगायतका समाचारहरुले पुष्टि गरे। यसकारण कुनै पनि उदाहरण नदेखि पत्याउन गार्हो मान्ने हामीले चिलिको यस महाभूकम्प पश्चात मानविय क्षति न्युनिकरणका लागी उचित भवनसंहिताको कडाइका साथ लागु तथा पालना गर्नु पर्ने कुरामा सहमति जनाउन गार्हो मान्दैनौं कि?
हाम्रा समस्या
आमनागरिकमा भूकम्प र यसको संभावित क्षतिबारे पर्याप्त ज्ञान नहुनु एउटा मुख्य समस्या हो, जसका कारण हामीले नयाँ घर बनाउदा होस या बसिरहेको घरमा सुरक्षित रहनको लागी सामान्य खर्च पनि बढाउन चाँहदैनौं। घर बनाउने बेला कम बजेटमा बनाउन, न भएका आचारसंहिता मान्न खोज्छौं नत घरको डिजाइन राम्रो सँग गराउननै, महा, उप तथा नगरपालिका, गाबिसहरूमा छिटो र बिना झन्झट नक्सा पास गराएर काम गराउन त्यहींका प्राबिधिक तथा इन्जिनियरहरूलाई नक्सा तथा डिजाइनको काम जिम्मा लगाउने गर्छौं जसले गर्दा काम सजिलो त हुन्छ तर यसको दिर्घकालीन असरको हिसाब हामी जान्न चाहदैनौं। तत्कार्यालयका प्राबिधिक तथा इन्जिनियरहरू असक्षम छन भन्न खोजेको होइन तर धेरै आउने कामको भार, अफिसकै कामको भारहरूले उनीहरूले राम्रोसँग न नक्सा बनाउन सक्छन नत डिजाइननै,  मात्र पुराना बनाईएका नक्साहरू मध्येबाट मिल्ने खोजेर केही नापहरू मिलाएर काम सकिदिने चलन छ। जे जस्तो भएपनि नक्सा पासहुने साथै घर बनाउदा पनि कार्यालयीय झन्झटहरू बेहोर्नू नपर्ने भन्दै यसरीनै काम गराउने चलन बढिनै रहेकोछ जसलाई निरुत्साहित गर्नु जरुरी छ।


निजिस्तरमा बन्ने यस्ता घरहरु त जोखिममा परेकै छन झनै सरकारीस्तरबाट बनाइने संरचनाहरुको गुणस्तर कहालिलाग्दो अबस्थामा छ, मुख्यत हाम्रा सरकारी संरचना बनाउदा सबै भन्दा सस्तोमा काम गर्नेलाई दिने नियम र काम गराउदा, चल्दै आएको अघोषित अनिबार्य जस्तै बनेको कमिसनको जालोले अन्तत गुणस्तरमा सम्झौता हुने गरेको छ। कुनै ठुलो भूकम्पका कारण घर भत्किएर तत्काल मृत्यु हुने संख्या भन्दा त्यस पश्चात बेलैमा उपचार नपाएर, दुषित खानेकुरा तथा पानी का कारण फैलने महामारीका कारण धेरैको ज्यान जान सक्छ त्यसैले यस्तो हुनबाट जोगाउन सरकारी संरचनाहरु पुल, अस्पताल, स्कुल भवनहरु कुनै सम्झौता बिना मजबुत बनाउनु अपरिहार्य छ।
हामीले गर्नुपर्ने
सरकारी स्तरमा नितिगत समस्याहरु देखिन्छन जसले गर्दा हाम्रा कतिपय बौद्दिक सम्पत्ति यसै खेर गइरहेका छन, नेपालमा आफ्नो अनुसन्धान बजेट धेरै नभएपनि बिदेशी बिश्वबिध्यालय, संघ संस्थाका सहयोगमा थुप्रै अध्ययन अनुसन्धानहरु भए र भइरहेका छन, यसरी हुने अनुसन्धानहरुको नतिजा केबल बिभिन्न जर्नलहरुमा प्रकाशित हुन्छन तर सरकारी तबरबाट यसको खोजी, संयोजन र प्रयोग हुन सकेको देखिदैन।
नेपालमा भूकम्प प्रतिरोधि डिजाईन निर्देशिका पनि नभएको चाहि होईन तर यसको प्रयोग निकै कम मात्र हुने गरेको छ, मुख्यत बि सं २०४९ सालमा युएनडीपीको सहयोगमा नेपाल सरकारका लागी तयार भएको नेपालको भुकम्पिय जोखिम सम्बन्धि प्रतिबेदनमा आधारित रहेर तथा अन्य बिभिन्न मुलुकका निर्देशिकाहरुको सहयोगमा बिज्ञहरुले तयार पारेको नेपालको भूकम्प प्रतिरोधि डिजाईन निर्देशिका २०६० मा जारी गरिएको थियो। आफ्नै देशमा भइसकेका बिभिन्न अध्ययन अनुसन्धान तथा आबश्यक अनुसन्धानहरु गरेर भवन संहितालाई अध्याबधिक बनाउने र त्यसलाई कडाइका साथ लागु गर्ने हो भने धेरै हदसम्म मानबिय क्षति रोक्न सकिनेछ।

गैससहरुले भित्र्याएका भुकम्पिय सुरक्षा सम्बन्धि परियोजनाका लाखौं डलर रकम स्थानिय स्तरमा सामान्य मानिसले पनि बुझ्ने गरि जनचेतना फैलाउन उचित सदुपयोग होस। आम नागरिक हामी सबैको कर्तब्य, आफु बस्ने घर, काम गर्ने अफिस बलियो र सुरक्षित बनाऔं या बनाउन लगाऔं। हामीले चिलिबाट सिकौं र केहि गरौं अन्यथा अहिलेकै जस्तै स्थिति रहेमा भोली हामी हैटिको स्थितिमा पुग्नु पर्नेछ। 

भुईंचालो!!! नडराउनुहोस,तर पुर्वतयारी र सतर्क हुने की!: सन्दर्भ भुकम्प सुरक्षा राष्ट्रिय दिवस


नेपाल भुकम्पीय जोखिमको हिसाबले निकै नै माथि छ जहाँ जुनसुकैबेला बिनासकारी भुइचालो आइदिनसक्छ। १९९० साल, माघ २ गतेपछिल्लो निकै ठुलो भुइचालो आयो र हजारौंको ज्यान गयो,त्यही दिन अर्थात अंग्रेजी मिति १५ जनवरीमा अहिलेसम्म १९९३मा जापानमा ७.६ रेक्टरको भुइचालो जादा २ जना मरे भने, सन १९६८मा सिसिलि (ईटालीको दक्षिणमा छ) ५.४ रेक्टरको भुइचालोकै कारण २१६ले ज्यान गुमाउनुका साथै लगभग ३०० मिलियन डलरको क्षती भयो। अर्जेन्टिनमा पनि ७.४ रेक्टरको भुईचालो जादा करिब १०,००० को मृत्यु भयो। जापानमा ठुलो भुइचालो जादा पनि किन मानिस धेरै कम मर्नुका साथै जनधनको कम मात्रै क्षति भयो त? पहिलो कुरो त यो भुइचालो समुद्रमा केन्द्रबिन्दु भएर गयो र मानव बस्तीभन्दा टाढा हुनाले धेरै क्षति हुन पाएन तर मुख्य कुरो चाहिं त्यहाँका मानिस सतर्क र तयारी अवस्थामा हुन्छन साथै संरचनाहरू पनि भुकम्प प्रतिरोधी बनाएका छन। सन २०११ को महाभुकम्पमा पनि सुनामीका कारण मात्रै ठुलो क्षती भएको हो अन्यथा खासै तुलनात्मक रुपमा ठुलो असर गरेको थिएन। 
नेपालमा गएको त्यही बिनासकारी भुकम्पको सम्झनामा मनाउने गरिएको यो भुकम्पीय सुरक्षा दिबसले कमसेकम वर्षको १ पटक मानिसहरूले भुकम्पको बारेमा चासो राख्ने बनाइदिएको छ (भुईचालो गएको दिन बाहेक)। सरकारले यसलाई साप्ताहिक रुपमै मनाउन लागेछ त्यसैले मैले पनि यो ब्लग माघ २भन्दा पहिले नै लेखेको हुँ। खासै यस्ता कुरामा धेरैको ध्यान त जादैन तैपनि मैले केही सरल शैलिमा यस सम्बन्धी केही जानकारी दिन खोजेको छु, कति सफल हुन्छु त्यो मूल्यांकन तपाईकै जिम्मामा छ है। 
खास के हो त भुईचालो? शब्दले नै भनेअनुसार भुइँ चल्नु या जमिन हल्लिनु... यो नै हो हामीले महसुस गर्ने भुकम्प या भुइचालो। पृथ्बिको मध्ये भित्रि भागमा रहेको तरल म्याग्मा, लाभा आदिको आन्तरिक बहाबले बाहिरि भागमा रहेका चट्टानहरू एक आपसमा धकेलिएर बसिरहेका हुन्छन या भनौं सिंगौरी खेलिरहेका हुन्छन, जुनबेला कुनै एकले धान्न सक्दैन तब एकैचोटि एकमाथि अर्को खप्टिन पुग्छ या छुट्टिन पुग्छ जसका कारण जमिनमा कम्पन उत्पन्न हुन्छ। ठुला चट्टान बिचमा मात्रै होइन एउटै चट्टान भित्र पनि बिभिन्न ठाउँमा धाँजाहरू फाटेका हुन्छन जसका कारण पनि भुईचालो जानसक्छ। धेरै वर्ष पहिले पृथ्वीमा एउटैमात्र टापु थियो, समय क्रममा छुट्टिदै जादा अहिलेको अवस्थामा आइपुगेको पनि भनिन्छ। भुइचालो सम्बन्धी मैले लेखेको नागरिक दैनिकमा छापिएको लेख हेर्न यहाँ क्लिक गर्नुहोस।

भुकम्प संबन्धि सामाजिक संजालमा गरिएको सर्भेको नतिजा हेर्न मन लागे यहाँ क्लिक गर्नुहोस। जहाँ धेरै मानिसले सुरक्षित रहने उपायबारे अनभिज्ञता देखाएको साथै ंभुकम्प प्रतिरोधी घर बनाउने बारेको नियम पनि थाहा नभएको बताएका छन।

हेरौं युएनले तयार पारेको काठमाण्डौ उपत्यकाको लिक्विफ्याक्सन जोखिम नक्सा
काठमाण्डौं उपत्यकाको लिक्विफ्याक्सन जोखिम नक्सा (त. सा. युएन)
लिक्विफ्याक्सन भनेको सरल भाषामा माटो तरलिकृत हुने प्रकृया नै हो, विशेष गरी नदी छेउ बलौटे तथा कालो माटो भएको ठाउँमा भुइचालोको कारण हल्लिदा तलको पानी माथि आउने र माटो थलथल हुने गर्छ, केही धान्न सक्दैन अनि त्यस क्षेत्रका संरचना ढल्न पुग्छन। माथि तस्विरमा देखाइएको रातो भाग बढी जोखिम युक्त क्षेत्र हो, पहेंलो केही कम हो भने सेतो नभएको....

बुदागतरुपमा कुरा गरौं पूर्व तयारी, तत्कालीन अवस्था र त्यसपछिको अवस्थाका बारेमा

तपाईं हामी सबैले जहिलेसुकै ध्यान दिनुपर्ने कुराहरू


आफ्नो अफिस, घर या कुनै पनि कार्यस्थलमा रहेका दराज, सोकेस, टिभी आदि बस्तुहरू बलियोसँग भित्तामा बाँधेर राख्नुहोस ताकी भुइचालोले घर हल्लिदा त्यस्ता सामान झरेर तपाई या परिवारका सदस्यहरूलाई नलागोस।
तपाईको वरिपरि बलियो टेबल या पलंग मुनि खालि ठाउँ राख्नुहोस जसमा भुकम्प आईहाल्दा लुक्न पाईयोस।
घरमा केही बोतलमा पानी भरेर साथै केही ड्राइफुड, प्राथमिक उपचारका सामान, सामान्य औसधि, टर्च लाइट, सिठ्ठि आदि एउटा झोलामा राख्नुस सबैले देख्ने र छिटो टिप्न सकिने ठाउँमा, पानी फेरिरहनुस, अरु सामान पनि म्याद सकिनु अगावै फेर्नुहोला(फेरि बर्सौं एउटै राख्ने कुरा त होइन है)।
    आपतकालिन झोला
  • तपाईको या छिमेकीको घरको छतको छेउमा देखाउनका लागि राखेको गमला बलियोसँग बाँधेर राख्नुस या त अलि कुनामा राख्नुस, छेउमा रहेको गमला भुईचालोले घर हल्लिदा तल झरेर तपाई, परिवारका सदस्यहरू या अन्यलाई लागेर घाइते हुने सम्भावना ज्यादा हुन्छ। (२०६८ भाद्रमा ब्रिटिश एम्बेसिको पर्खाल भत्केर ३ जना मानिसको ज्यान गएको थाहा पाउनुभएकै हो नी, हो त्यस्तै अरु दुर्घटना हुन नदिन गमला पनि सुरक्षित राख्नुपर्छ, आफ्नो कम्पाउण्ड वालहरू बलियो राख्नुपर्छ)
  • तपाईंको घरमा बाहिर निस्किएर भाग्न मिल्ने कुनै त्यस्तो झ्याल वा ढोका छ? छ भने त्यस्तो ठाउँ सकेसम्म छिटै निस्कन मिल्ने गरी राखिराख्नुस, (चोर छिर्न नमिल्ने उपाय त लगाउनुहोला खुल्लै राख्नुस भनेको चाहि हैन यदि तपाईको कम्पाउण्ड राम्रो छैन भने)


२०११ सेप्टेम्बरमा भुकम्पका कारण ब्रिटिश एम्बेसीको 
पर्खाल भत्किदा क्षतिग्रस्त कार 
 (Photo:practicalaction.org) 


नयाँ घर बनाउदै हुनुहुन्छ? यी कुरामा ध्यान दिनुस

  • जग बसालिसकेपछि हात्तिपाइलेसँगै माथिपट्टि एक लेयर कम्तीमा ९"X९"को बिम राख्नुस, यसरी खुट्टा बाँधेपछि भुईचालोको समयमा घर धेरै नाच्न पाउदैन त्यसैले बलियो हुन्छ।
  • टाईबिमको लेभलमा वाल बस्ने सहित सबैठाउँमा टाईबिमराख्नुस र त्यसमुनि टाईबिम अड्याउन कम्तीमा २.५ फिटको जग बसाउनुस वालको लागि (सामान्य रुपमा है, जग्गाको प्रकृतिहेरि धेरै थोरै हुनसक्छ जे होस ववालको पनि बलियो जग बनाउनुस)।
  • पिलरमा रिंगराख्दा भुइबाट कम्तीमा १ चौथाई र माथिबाट १ चौथाइ भागमा ४"को फरकमा राख्नुस र बिचमा ६" को फरकमा राख्नुस (यो पनि सामान्य रुपमा भनेको है, कामदारहरूले सबैतिर बराबर राख्दिन्छन सजिलोको लागि त्यसको गर्न नदिनुस)। भुइचालो आउदा धेरै जोडपर्ने भनेको बिम र कोलमको जोइन्टमा हो। भुइचालो आउदा जतापनि हल्लिन सक्छ त्यसैले पिलर मर्किन्छ र यस्तोबेला यसलाई थाम्ने रिंगले हो त्यसैले पिलर बिम सबैको जोइन्ट वरिपरि बाक्लो गरी रिंग राख्नुपर्छ। 
  • मुख्य पिलर र बिमको जोइन्ट भएको ठाउँमा रिंग राख्न गार्हो हुने हुनाले धेरै जसो कामदारले त्यहा राख्दैनन, त्यहाँ धेरै डन्डी छ पर्दैन भन्न सक्छन तर त्यहँ भित्र जसरीपनी २ वटा रिंग राख्न लगाउनुस। माथि माथिभन्दा तल्लो तलामा भार बढ्दै जाने हुनाले तल्ला तलाहरूमा पिलर बिम बलियो हुनुपर्छ।
  • बिम र पिलरको कुरा एक ठाउँमा भए मुख्य मेरुदण्ड तर भुइचालो आउदा पिलर सिस्टमको घरमा पहिले भत्किने भनेको वाल हो त्यसैले वाल बलियो बनाउन, झ्याल राख्ने (सिल)लेभल र माथि लिन्टेल लेभलमा सानो बिम जस्तो २ बटा डण्डि (साथै सानो टुक्राहरूले क्रसमा पनि बाँधेर) राखेर सबैतिर पिलरहरूमा जोड्नुहोस जसले गर्दा वाल बलियो हुन्छ र छिट्टै ढल्दैन।
  • वाल बनाउदा सकेसम्म हलुका सामानको प्रयोग गरौं, जस्तै पार्टिसन वालहरू मिल्नेसम्म प्लाई या त्यस्तै केही हल्का सामान को बनाऔं।
  • पिलर सिस्टम नभई इट्टाको गार्होमा मात्रै घर बनाउदै हुनुहन्छ भने पनि सबे कर्नरहरूमा डण्डि राखेर अनि वालहरू कम्तीमा ३ तहमा अघि भनेझैं बाँधेर बनाउनुहोला। यो तलको एनिमेशन हेर्नुहोस
  • बाहिर निस्कन मिल्ने (Escape Door) आपतकालीन ढोकाहरूको व्यवस्था गर्नु पनि आवश्यक छ, यो भुकम्पको बेला मात्रै नभएर आगलागि या कुनै अरु दुर्घटनामा पनि प्रयोग गर्न सकिन्छ।
    भुइचालो आउदा घर कसरि भत्किन्छ र वाल सिस्टमको
    घर बनाउदा कसरि बनाउने त हेर्नुस यो माथिको एनिमेसन
    (तस्विर साभारः भुकम्प प्रबिधि राष्ट्रिय समाज नेपाल)




    भुईचालो आयो!!!!!!!!!! के गर्ने त????

    • कत्तिपनि नआत्तिनुहोस, थाहा पाउनासाथ नजिकैको सुरक्षित ठाउँमा लुक्नुस (डक कभर होल्ड गरी बस्नुस जसको मर्म तपाई शरिर सकेसम्म सानो बनाएर साथै टाउको जोगाएर बस्नुहोस भन्ने हो) सिठ्ठि चै लिनुस है सकेसम्म, झोला लिएर बस्न सके राम्रो। (जस्तै घरमा हुनुहुन्छ खाटमुनि, टेबलमुनी केही छैन सबैतिर सामानै सामान छन भने ढोकाको फ्रेममुनी भएपनि केही सुरक्षित हुन्छ, बाटोमा हुनून्छ अरु केही नसोच्नुस सिधै खुला ठाउँमा रोकिनुहोस, भीडभाडतिर हुनुहन्छ, खुला ठाउँ कतै देख्नु भएन भने तुलनात्मक रुपमा बलियो ठाउँमा ओत लाग्नुस, अफिस या कार्यक्षेत्रमा हुनुहुन्छ भने त्यस्तै सुरक्षित ठाउमा लुक्नुस।)
    • भुइचालोको कम्पन एक पटकमात्रै नहुन सक्छ त्यसैले पहिलो कम्पन सकिनासाथ अब आफ्नो गर कोठामा ग्यास खुल्ला छ या, हिटर, या आगो जन्य कुनै पनि कुरा छ भने निभाइहाल्नुस र त्यो अघि भनेको झोला छ नि हो त्यो बोकेर खुला स्थानमा जानुस।
    • कमसेकम १ घण्टा जति बाहिरै बस्दा राम्रो, दोस्रो कम्पन झनै बिनासकारी पनि हुनसक्छ, सधै दोस्रो झट्का आउछ नै भन्ने होइन तर धेरै जसो ठुला भुइचालोहरू जानु अघि र पछि साना भुइचालोहरू जाने गर्छन त्यसैले सजग हुनै पर्छ।

    अब सम्झनुस ठुलो भुइचालो आयो तपाईको घर भत्कियो, छिमेकको पनि भत्कियो, सत्यानासै भयो नि जताततै बेहाल..... के गर्ने???

    म मान्दिन रे भन्नुहोला तर मान्नुस, तपाईले हईटिको बारेमा त सुन्नुभो होला पक्कै, झण्डै सांढे २ लाख मरेका थिए। नेपालमै ९० सालमा कति मरे, ४५मा उस्तै, पोहोर, परार उस्तै अनि नमानेर भयो त, ल एक छिन त्यस्तै भयाबहको कल्पना गर्नुस। धेरै घरहरू लडेका मान्छेहरूको रुवाबासी, बिजुलीको खम्बा, टेलीफोनको खम्बा सबै लडेका, यसै त नआउने पानी त्यहीपनि पाईप सबै चटाचुन्न, पुलपुलेसा सबै भत्केका, वारिका मान्छे वारि नै पारिका पारिनै... हस्पिटलहरूनै पनि कतिपय भत्केका, बाटो बन्द छ, एम्बुलेन्स आउन सक्दैन, घाइतेहरू कराइरहेका छन, यत्रतत्र मान्छे लडिरहेका छन.... ओहो योभन्दा त नलेखौं जिउ ने सिरिंग भैसक्यो ....
    हेर्नुहोस हईटीको हालत कस्तो भएको थियो
    नेपालमै १९९० साल आजकै दिन कस्तो भएको थियो हेर्नुस तल

    १९९० सालको भुकम्पका कारण क्षतिग्रस्त काठमाण्डौका केहि झलक
    तपाईंरहेको ठाउँमै सुरक्षित स्थानमा भनेर बसेको खाटमुनि या टेबलमुनि पुरिनुभो भने त्यो बेला सिठ्ठिको राम्रो काम आउँछ, बोलाएर कसैले सुन्दैनन तपाईलाई खोज्न १-२ दिनमा आउन पनि सक्छन, सबैतिर त्यस्तै हालत हुन्छ अनि कताकता भ्याउनु, त्यो बेला खानु न खुट्नुसँग पुरिएको मान्छे कसरी बोलोस सिठ्ठी त फुक्न सकिन्छ नि अनि तपाईलाई बचाउन कोही आउछन। यो भयो सिठ्ठिको काम।
    माथि भनेको अवस्थामा प्राथमिक उपचार सामाग्री, खानेकुरा, पानी केको लागि भनेर त अब भन्नै परेन। तपाई सकुसल हुनुहुन्छ या थोरै मात्रै घाइते हुनुहुन्छ भने सकेको सहयोग गर्नुस, सरकारी निकाय या रेडक्रस या अन्य कुनै संस्थाहरूले नजिकै कतै शिविर राखेका हुन्छन त्यहाँ जानुस, अरुलाई पनि लैजानुस।
    तपाईं काठमाण्डौंमा हुनुहुन्छ? यो माथि बनेको शब्दचित्र मानसपटलमा राखिराख्नुस है, यस्तो हुने संभावना एकदमै धेरै छ, यसले डराउने हिसाबले भुतको कथा जस्तो लेख्यो भन्नुहोला यो टार्न नसकिने एक भविश्यको बिपत्ति हो, आजै देखि, अहिल्यै देखि सबै जना तयार भएर बसियो भने जोखिम साथै क्षति कम गर्न सकिन्छ।
    यही वर्ष पाकिस्तानमा, फिलिपिन्समा (शहरि क्षेत्रबाट टाढा) गएको भुईचालोले त ७५०भन्दा धेरै मान्छे मरे, यहा क्लिक गरेर केही फोटाहरू हेर्न सक्नुहुन्छ...

    जापानमा सन २०११मा गएको महाभुकम्प र त्यसपछिको बिनासकारी सुनामीका केही झलक यहाँ हेर्न सक्नुहुन्छ 


    भूइचालो आफैले मान्छे मार्दैन तर यसका कारण मान्छेले बनाएका आफ्नै संरचनाले मरिन्छन त्यसैले सजग बनौं, तयारी अबस्थामा बसौं।
    (तस्बिरहरु माथि लेखिए या नलेखिएका समपुर्ण बिभिन्न वेबसाइटहरुबाट साभार गरिएको हो)

    भुकम्प सम्बन्धि सर्भेको नतिजा: जनचेतना अझै बढाउनु जरुरी छ की!!

    केहि महिना पहिले सामान्य भुकम्प सम्बन्धि सर्भे गरिएको थियो, जसमा प्राप्त जम्मा करिब ४०० उत्तरहरुबाट केहि अपुर्ण, साथै नेपाल बाहिरका सहभागिका उत्तरहरु समाबेश नगर्दा जम्मा ३०५ सहभागिहरुको प्रतिक्रियाका आधारमा नतिजाहरु देखाइएको छ। (सामाजिक संजालमा यो स्याम्पल धेरै सानो हो तर पनि प्रतिनिधिमुलक रुपमा यसले धेरै हदसम्म समेटेको अनुमान गर्न सकिन्छ।)


    हेरौं पाइचार्टमा केहि नतिजा हरु

    यि माथिका केहि नतिजाहरु हेरौं जसमा देखिए अनुसार फेसबुकबाट सबैभन्दा धेरै र त्यसपछि ट्विटर, दुबै अनि अन्य सामाजिक संजाल प्रयोगकर्ताहरु यसमा सहभागी हुनुभयो जसमा उमेरका हिसाबले युबा पुस्ताको नै बर्चस्व रह्यो, मुलत पुरुष मित्रहरु धेरै यसमा सहभागी हुनुभयो र महिला मित्रहरु निकै कम ७% मात्रले सहभागिता जनाउनु भयो। यि त भए सहभागिताका कुरा, अब कुरा गरौं भुकम्प संबन्धि ज्ञान वा जानकारीका... 
    भुकम्पबारे धेरैले स्कुले जिवनमानै सामान्य जानकारी पाएको देखिन्छ या भनौं सुनेको मात्र पनि हुनसक्छ, यस्तै तपाईबस्ने घर के ले बनेको छ भन्ने प्रश्नको प्रतिक्रियाले केहि सोचनीय बनायो, के लाग्यो भने धेरै मानिसले आफ्नो घर पिलर सिस्टमको हो हैन भन्नेकुरा द्विधामा परेको हो की काठमाण्डौं उपत्यका भित्र हामिले भनिने र बुझिने पिलर सिस्टमकै घर धेरै छन तर यहाँ देखिएको नतिजाले इट्टाले बनेको घर धेरै देखियो, हुन त काठमाण्डौं बाहिरको आफ्नो घरको कुरा गरिएको हुन सक्छ (प्रश्नमा तपाई बस्ने घर भनिएको थियो जसको अर्थ हाल बसिरहेको नै हुन्छ जस्तो लाग्छ) या त नबुझेकै हुनु पर्यो। जब कुनैघरमा पिलर र बिम बनाईसकेपछि इट्टाको गार्हो लगाईन्छ (तर ठेकेदारहरुले सजिलोको लागि पिलर उठाएर वाल लगाएर मात्र स्ल्याब र बिम ढलान गर्ने पनि गर्छन त्यो सजिलोको लागी मात्रै हो त्यसरी बनाउदैमा त्यो घर वाल सिस्टममा बनेको हुदैन) या भनौं कुनै पनि घरको मुख्य भार बिम र पिलरले लिन्छन त्यस्ता घरहरु पिलर सिस्टममा बनेका भनिन्छ।

    भुकम्प संग डर लाग्छ भन्ने लगभग सबै सहभागि मध्य ६०%लाई आफु बसिरहेको घर सामान्य भुइचालोबाट सुरक्षित छ जस्तो लाग्छ तर केहिलाई मतलब पनि रहेनछ जे सुकै होस। उता घर सुरक्षित छैन भनेर चिन्तालिने १६% हुनुहुन्छ भने थाहै भएन के पो छ भन्ने चाहिं २२%। आफ्नो ठाउंमा भुकम्प प्रतिरोधि घर बनाउनु पर्ने ब्यबस्था छ छैन भन्ने कुरा झन्डै आधा(४६%)लाई थाहा नभएको पाईयो, हुनत घरको मुख्य मानिसलाई जसले घर बनाउदै हुनुहन्छ उहाहरुलाई मुख्य रुपमा थाहा हुनुपर्छ तर पनि समाचार अनि बिभिन्न सुचनाहरुबाट सुसुचित हुने युबा बर्गकै धेरैलाइ यो कुरा थाहा नहुनु वा छैन भन्नु सुचनाको राम्रो (ब्यबस्थापन?) नभएको पो हो कि? भुकम्पिय सुरक्षा सम्बन्धी पुर्ब तयारीको बारेमा आधा भन्दा धेरै(५३%)ले राम्रै थाहा भएको कुरा राख्नु भयो भने ५%लाई केहि पनि थाहा नभएको पाइयो र बाकीलाइ थोरै मात्रै थाहा रहेछ। काठमाण्डौंमा सरल भाषामा बुझिदै आएको ७ रेक्टरको भुइचालो गयो भने हजारौं को हताहति हुने कुरा धेरै(४६%)लाई लागेकोछ भने १८% लाई लाखौको ज्यान जाने चिन्ता छ जबकि ९% लाइ त १०० भन्दा पनि कम मर्लान भन्ने बिशवास रहेछ र २७% लाइ सयौंमा यस्तो हुनसक्ने आंकलन छ। धेरैलाई लागेको जस्तै भुकम्पिय जोखिमका हिसाबले धेरै नै हजारौंमा मानिस मर्ने संभावना हुन्छ, हुन त भुकम्प जाने समयले पनि फरक पार्छ जस्तो कि राति गयो भने धेरै मानिसको ज्यान सक्छ जति दिउसो या बिहान बेलुका हुदा जान सक्छ तर पनि ७ रेक्टरको आउदा ( यो पनि कति पर केन्द्र बिन्दु रहेको छ त्यसले फरक पार्छ) केहि सय मात्रै मर्लान भनेर जोखिम न्युनिकरण नगरि बसियो भने बिकराल समस्या हुन सक्छ।
    भुइचालोको भोगाई धेरैका धेरै थरि पाईए, कसैलाई पिङ खेलेजस्तो लागेछ, कोहि रिंगाटा लागेर लड्नुभएछ त कोही आत्तिदै भाग्नु भएछ। कोहि खाना पकाउदै गर्दा थाहा पाएको भन्नुहुन्छ भने कोहि रोकेको गाडिमा हुनुहुन्थ्यो रे पहिलो पटकको भुइचालो थाहा पाउदा। भुइचालो गएको थाहा पाउनासाथ के गर्ने त भन्ने कुरामा धेरैले केहि लेख्नु भएन तर लेखेका मध्य धेरैले सुरक्षित ठाउंमा लुक्छु भन्नु भएको छ भने कोहि भाग्छु भन्ने पनि देखियो जुन सोचाइ खतरामुक्त होइन है।

    यसरी आएका बिभिन्न कुराहरु हेर्दा मानिसहरु जानकार हुन खोजेको तर राम्रो जानकारी हुन नसकेको हो की? नेपाल र त्यसमाथि काठमाण्डौंमा भुकम्पिय जोखिम ज्यादा भएको क्षेत्रमा सामान्य भुकम्पिय सुरक्षा संबन्धि जनचेतना अलि धेरै जगाउनु जरुरी देखिन्छ।

    यस सर्भेमा भाग लिनुहुने तपाई सबेलाई हार्दिक धन्यबाद दिन्छु साथै फेसबुक तथा ट्विटरमा शेयर गरेर सहयोग गरिदिनुहुने सालोक्य, गुणराज सर, नारायण दाजु, काकाबा, प्रमोदजी साथै सबै जना (सबैको नाम लेख्न सकिन दुख नमान्नुहोला ) प्रति आभारी छु।

    भुकम्प सम्बन्धि अन्य लेखहरु




    भुकम्प, यसको असर र जोखीम


    (भाद्र २६,२०७० को नागरिकमा प्रकाशित)

    यहि भाद्र १४ गते रातको लगभग ११:३५ को आसपासमा नेपालको मध्यभाग ६ रिक्टर स्केल(स्थानिय मापन)को भुईचालोको कारण हल्लिन पुग्यो, सामाजिक संजालहरु एकै पटक भुकम्पमय बने, सबैजना यस प्रति चनाखो बनेको देखियो। UNDP को बिपद् ब्यबस्थापन संबन्धि संस्थाले २००४ मा निकालेको रिपोर्टको आधारमा बिश्वमा भुकम्पिय जोखिमको ११औं स्थानमा पर्ने देशमा हाम्रो तयारी कस्तो छ त? के हाम्रो समाजमा यस्ता भुकम्प आउदा के गर्नुपर्छ, कसरि सुरक्षित रहनुपर्छ भन्ने जनचेतना राम्रो छ त? हिजोकै केहि प्रतिक्रिया हरु हेर्दा र बुझ्दा यसको कमि देखिन्छ। पछिल्ला बर्षहरुमा भुकम्प आउने क्रम बढ्न थालेको देखिन्छ र यसले केहि बर्ष भित्रैमा ठुलै भुइचालो जान सक्छ भन्ने पनि बुझ्न सकिन्छ। भाग्यबस अहिले ठुलो भुईचालो आएको छैन, हामीले सानासाना भुइचालोहरु महसुस गरेका छौं, त्यसैले राजधानीमा ठुलो क्षति हुन पाएको छैन।
    नेपालमा भुईचालोको ईतिहास करिब ई. सं. १२५५ देखिको रहेको पाईन्छ जुन समयमा काठमाण्डौंका एक तिहाई देखि एक चौथाई हाराहारी मानिसले ज्यान गुमाएको बताईन्छ। त्यस भन्दा पहिले पनि भुईचालो नगएका होईनन तर कुनै पनि यकिन समयका तथ्यहरु फेला नपरेका मात्र हुन।  यस्तै सन १४०८, १८१० मा पनि ठुला भुईचालो गएका थिए तर यसको यकिन तथ्यांक भेटिएको छैन। सन १८३३ देखि कुनै रुपमा तथ्यांकहरु पाउन सकिन्छ जुन समयमा ७.८ रिक्टरको भुइचालोका कारण काठमाण्डौंका करिब ५०० मानिसले ज्यान गुमाएका थिए। पछिल्लो सन १९३५ (बि. सं. १९९० माघ २) को भुईचालोलाई सबैभन्दा ठुलो भुइचालोको रुपमा लिईन्छ जसको कारण करिब १६००० मानिसको ज्यान गएको थियो। यसै महाभुकम्पको सम्झना र समाजमा भुकम्प संबन्धि जनचेतना फैलाउनको लागी त्यस दिनलाई प्रत्येक बर्ष भुकम्प दिबसको रुपमा मनाउन थालियो। यस बिचमा नेपाल वा भारतका बिभिन्न स्थानमा केन्द्रबिन्दु भएर गएका बिभिन्न भुकम्पको कारण पनि कयौं नेपालीले ज्यान गुमाइसकेका छन।
    एक अनुसन्धानले हाम्रो देशको डिजाईन कोड (मापदण्ड) र प्रचलित निर्माण प्रबिधिले निर्मित संरचनाहरु अन्य मापदण्ड (ATC-40 FEMA-356) बाट निर्मित संरचना भन्दा बढि जोखिममा रहेको जनाएको छ। पछिल्लो समयमा बिभिन्न नगरपालिकाहरुले भुकम्पिय प्रतिरोधि भवनसंहिता लागु गरेकाले नक्सा बनाउदा अनिबार्य पर्ने ठाउँमा मात्र आम मानिसले घर बनाउदा नक्सा बनाउने गर्दछन तर यि मध्ये करिब ८५% (अनुमान) घर हरु नक्सामा रहेको संरचनागत डिजाईन नअपनाई, सामान्य निर्माण ठेकेदारको भरमा बन्ने गरेका छन। निकै कम मानिसले मात्र ईन्जिनियरको रेखदेखमा आफ्नो घर बनाउने गरेका छन। यस किसिमले निर्माण गरिएका संरचना कति बलियो होलान त? हामी सहजै अनुमान लगाउन सक्छौं।
    काठमाडौं किन धेरै हल्लिन्छ अन्य स्थानको तुलनामा? संरचनामा कस्तो असर पर्छ?
    काठमाडौंको भु-बनोट बिशिष्ट प्रकृतिको छ, ताल पुरिएर बनेको भनिने काठमाडौं उपत्यकाको अधिकांस भागमा धेरै तलसम्म कालो माटो मात्र पाईन्छ, कडा चट्टान धेरै तल मात्र रहेकोछ। भुकम्पिय तरङगको गति कडा बस्तुमा जति छिटो हुन्छ, नरम बस्तुमा त्यतिनै ढिला हुन्छ त्यसैले जब भुकम्पिय तरंग तलको कडा चट्टानबाट माथी नरम माटोमा आउछ, यसको गति ढिला हुन्छ तर यसको गति ढिला भए संगै यसको हल्लिने सिमा धेरै हुनजान्छ, छिटो हल्लिदा १० सेमि मात्रै यताउता हल्लिन्थ्यो भने ढिलो हल्लिदा ३० सेमि हल्लिन सक्छ (यसलाई एम्प्लिफिकेसन भनिन्छ)। त्यसैले भु-बनोट नरम भएका ठाउहरुमा धेरै हल्लिएको महसुस हुन्छ। काठमाडौंको त्यस्तै नरम भु-बनोट भएको कारणले महसुस धेरै भएको हो। यहि कारणले नै टाढा केन्द्रबिन्दु भएको भुकम्पको असर अन्य क्षेत्रमा भन्दा काठमाडौंमा बढि पर्ने गरेको छ।
    संरचनाहरुमा पर्ने भुकम्पिय असर यसको उत्पन्न प्रकृति, केन्द्रबिन्दु को दुरी, तरंगको दिशा र संरचनाको अबस्थितिमा भर पर्छ। कुनै एक भुकम्पको लागि कुनै निश्चित क्षेत्रमा संरचनाको अबस्थिति बाहेक अन्य कुरा एकै हुन्छन तर पनि हुने क्षति फरक हुन सक्छ, यदि संरचना बर्गाकार छ भने त्यसमा जुन कुनै दिशाबाट आएको तरंगको असर एकै हुन जान्छ तर यदि आयाताकार छ भने त्यसमा तरंग कुन दिशाबाट आएको छ त्यसले पनि असर गर्छ। नरम भु-बनोट भएको र धेरै हल्लिने क्षेत्रमा अग्ला संरचना बढि जोखिममा हुन्छन भने कडा चट्टान माथि बनेका अग्ला संरचनाहरु पनि बढि जोखिममा हुदैनन।
    जोखिम कम गर्न के गर्न सकिन्छ त?
    भुकम्पिय जोखीम कम गर्न हामीले संरचना निर्माणमा मुख्य ध्यान दिनुपर्छ जसले भविष्यको नोक्सानी कम गर्न सहयोग पुर्याउँछ। नया संरचना निर्माणको बेला यदि हामीले राम्रो संग ध्यान दिन सक्यौं भने मात्र १०%को अतिरिक्त खर्चमा ५०% धेरै सुरक्षा प्राप्त गर्न सकिन्छ। भुकम्प आफैले कसैलाई मार्दैन, हामी आफैले खडा गरेका संरचनाहरु कमजोर हुदा तिनैको कारण मृत्यु सय्यामा पुग्न सकिन्छ। त्यसैले संरचनाहरुको निर्माण गर्दा बिशेष ध्यान पुर्याउँ। बलिया संरचनाका साथसाथै भुकम्प आएको बेला आफ्नो वरिपरि रहने अन्य सामानहरु जस्तै दराज, र्याक, भित्तामा वा माथि राखिएका गर्हुंगा सामानहरु पनि क्षतिको कारण बन्न सक्छन त्यसैले त्यस्ता सामानहरु बलियो संग राखौं ताकि भुईचालो जादा यस्ता सामानहरु नझरुन या नपल्टिउन।
    भुकम्प आएको महसुस हुनासाथ भाग्न थाल्नु मुर्खता हो, त्यसो गर्दा वरिपरि रहेका सिसाहरु फुटेर, सामानहरु झरेर, इट्टाहरु झरेर लाग्न सक्छ, त्यसैले भुकम्प महसुस हुनासाथ पहिले आफ्नो नजिकै रहेको सुरक्षित स्थान जस्तै टेबलमुनि या खाटमुनि या यस्तै अन्य कुनै सुरक्षित स्थानमा बसिहाल्नुपर्छ। जब भुकम्पको धक्का सकिन्छ त्यसपछि साबधान पुर्बक नजिकै रहेको खुल्ला स्थानमा गएर बस्नुपर्दछ। कुनैपनि भुकम्पको धक्का एक पटक मात्रै आउछ भन्ने छैन धेरैजसो समय दोहोर्याएर आउने गर्छ, मुख्यत कुनै ठुलो भुकम्प जादा यसको अघि र पछि साना भुकम्प जाने गर्दछन त्यसैले केहि समय साबधानपुर्बक रहनुपर्दछ।
    कुनै पनि समयमा जानसक्ने महाभुकम्पबाट तत्कालिन समयमा सुरक्षित रहनुका साथसाथै यसका लागी पुर्बतयारी गर्नुपनि महत्वपुर्ण छ। आफ्नो घर परिवारका सदस्यबिचमा कस्ता ठाउँहरु सुरक्षित हुनसक्छन, घर वा कार्यस्थल बाहिरका सुरक्षित स्थानहरु कुन कुन छन भन्नेबारे छलफल गर्नुपर्दछ। बिपद्का बेला चाहिने अत्याबस्यक सामाग्रीहरु जस्तै पानी, केहि खानेकुरा, प्राथमिक उपचारका सामाग्री, सिट्ठी आदि बस्तुहरु ईमर्जेन्सी ब्यागमा सधै राख्ने जसलाई बिपदको बेला छिटो लिन सकियोस भनेर सबैले देख्ने र सहज ठाउँमा राख्नुपर्दछ।   आफैं सचेत हुदा मात्र पनि धेरै क्षति कम गर्न सकिने हुँदा सबैजनामा भूकम्प संबन्धी सचेतना जरुरी छ। भुकम्प आएको दिन र माघ २ गते (भूकम्प दिबस)को दिनमात्र होईन अन्य समयमा पनि यसबारे चर्चा हुनु र जनचेतना फैलाउनु जरुरी छ।