नयाँ शक्तिः रिटायर्ड क्लब मात्रै बन्ने त होईन नि!!

December 14, 2015 Rishi Ram Parajuli 0 Comments

मानव चेतनशील छ, समाज परिवर्तनशील छ, प्रगतिशील छ, सकारात्मक परिवर्तनको आशक्त छ तर राजनीति अस्थिर छ, विकास प्रगति नगण्य छ, राजनैतिक नेतृत्व सामाजिक आशाको नजरमा गुमनाम छ तर जब जब नेतृत्व चयनको कुरा आउँछ उनै र उस्तै सेता हात्तीहरू अनि उनका बुख्याँचाहरू बिकल्पहिन जस्तै देखिइरहन्छन्।

मानिसले विश्व देखेको छ, केही भोगेको छ, आफ्नै वरिपरि, आफ्नै समाजमा विकृतिहरू नियालिरहेको छ तर अर्को बाटो भेटेको छैन। यस्तै अन्योलपूर्ण स्थितिबाट गुज्रिरहेको नेपाली समाजले कुनैपनि नवआगन्तुक विचार र नेतृत्वहरूलाई चनाखो बनेर हेर्छ, प्रयोग गर्न चाहन्छ जसलाई उसले ‘नयाँ’को रुपमा अपनाएको/स्वीकारेको हुन्छ।

राणा शासनको शुरुवात, २००७ सालको परिवर्तन, पञ्चायतको शुरुवात, प्रजातन्त्रको पुनर्बहाली, माओवादी बिद्रोह, गणतन्त्रको स्थापना लगायत नयाँ तथा पुराना आन्दोलन तथा परिवर्तनहरू समाजको कुनै एक पक्षले ‘नयाँ’ प्रणालीकै रुपमा प्रयोग गरेको थियो। प्रणालीको परिवर्तन र नेतृत्व परिवर्तन फरक कुराहरू हुन जहाँ नेतृत्व परिवर्तन सापेक्षिक हिसाबले सहज हुन्छ।

पछिल्ला निर्वाचन परिणामहरू हेर्दा नेपाली जनता नयाँ, विकासशील नेतृत्वको ब्यग्र खोजीमा देखिन्छन् जसले एकपटक माओवादी नेतृत्वलाई हेर्न चाहे तर अपेक्षित परिणाम दिन नसकेकोले फेरि उबाट पछि फर्किए। पछिल्लो समय समाजमा कुनै न कुनै रुपमा चिनिएका, प्रतिष्ठित व्यक्तित्वहरूले नयाँ शक्ति बनाउने बारेको बहस शुरु गरिसकेका छन्, यो बहस केही वर्षदेखि चलिरहेको छ तर तिब्र परिवर्तनका आकांक्षी जनताले यसको अस्तित्व पेपर र अनलाइनहरूमा बाहेक देख्न नपाउँदा आशा र विश्वास बिस्तारै घट्दै गइरहेको देखिन्छ।

उता पूर्व माओवादी नेता डा बाबुराम भट्टराईको नेतृत्वमा ‘नयाँ शक्ति’ अभियानको रुपमा कुचो लगाउदै शुरु गरिएको छ तर त्यसलाई नयाँको रुपमा स्वीकार्न समाजलाई गाह्रो पर्ने देखिन्छ। पुरानो डुंगाका केही यात्रु सहित फलिका निकालेर ठोकठाक गर्दैमा राम्रो नयाँ डुंगा बन्ला र? उनै फलिका जुन चुहिन थाले भनेर आफैले छोडिएको थियो तिनै जोडेर मात्रै त कसरी बलियो र नयाँ डुंगा बन्ला त्यो त हेर्नै पर्ला।

'शक्ति’ न त बनाउन सकिन्छ न नष्ट गर्नै सकिन्छ मात्र यसलाई परिवर्तन गर्न सकिन्छ', यो विज्ञानको सर्वमान्य नियम हो यही कुरा सामाजिक, राजनैतिक तथा आर्थिक सबै क्षेत्रमा लागु हुन्छ। समाजमै रहेका विविध शक्तिहरूलाई सकारात्मक शक्तिमा बदल्नुनै अहिलेको आवश्यकता हो। हामीसँग न जनशक्ति न प्राकृतिक शक्ति, नत आर्थिकशक्ति न सामाजिक शक्तिको कमी छ, कमी छ त केबल उपलब्ध विविध शक्तिहरूको सही उपयोग र व्यवस्थापन गर्ने दृढ संकल्प र सोही अनुरुपको काम गर्नसक्ने सक्षम नेतृत्वको।

खाडीमा पसिना चुहाइरहेको युवा शक्ति, बिदेशमा भौंतारिइरहेको बौद्दिक शक्ति, पलायन हुने तयारीमा रहेको युवा शक्ति, चोकचोकमा क्यारेम र तासको खालमा भुलिरहेका युवा तथा बयस्कहरूको शक्ति, चुलोचौकामा मात्रै सीमित रहेका महिला शक्ति, सरकारी संयन्त्रमा ‘सरकारी काम कहिले जाला घाम’ प्रवृत्तिका धेरैजसो कर्मचारी शक्ति, परम्परागत कृषिमा खर्चिरहेको शक्ति लगायत धेरै जनशक्ति उपलब्ध छन्।

प्राकृतिक शक्तिको रुपमा हाम्रालागि यथेष्ट जलश्रोत, कच्चापदार्थ, पर्यावरण, भौगोलिकता आदि छन्। आर्थिक शक्ति कति छ भनेर हेर्न नेपाल भित्रने रेमिट्यान्स, अहिलेको नाकाबन्दीका बीच काठमाडौं लगायत शहरमा हुने ट्राफिक जाम, शहरमा ठडिइरहेका महलहरू, बैंकहरूमा रहेको तरलता आदि हेर्न सकिन्छ। कुनै पनि कम्पनीले लगानीका लागि आह्वान गर्दा लगानीको कमी भएको देखिदैन बरु कैयौं गुणा धेरै आवेदनहरू पर्छन्।

केही महिना पहिले जलवद्युत विकास कम्पनीले प्रति शेयर १०० रुपैयाँका दरले २ अर्बको शेयर आवेदन माग गर्दा ३५ अर्बको आवेदन पर्‍यो। त्यो रकम फिर्ता नहुँदै एक इन्स्युरेन्स कम्पनीले १०० रुपैयाँ अंकित शेयरलाई प्रिमियम सहित ६५० रुपैयाँमा बेच्न करिब ३३ करोडको FPO जारी गर्दा ४ अर्ब ३८ करोडको आवेदन पर्नुले साना तथा मझौला उद्योगहरुको लागि लगानीको कमी देखिदैन। सामाजिक रुपमा हामी बहुआयामिक छौं, हिमाल पहाड तराई, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विविधता रहेको समाजले ठूलो शक्ति दिन्छ जसको दुरुपयोग पनि भइरहेको देखिन्छ।

माग र उद्देश्य छोड्ने हो भने माओवादी बिद्रोह, मधेश आन्दोलन, अन्य जातीय क्षेत्रीय आन्दोलनहरू यसका पछिल्ला उदाहरण हुन्। यी र यस्ता लामो समयसम्म चलेका आन्दोलनहरूमा प्रयोग भएको शक्ति सामाजिक आर्थिक विकासमा केन्द्रित गरेको भए आज न थारुहरू उद्देलित हुनेथिए न त मधेस नै बल्ने थियो।

कमिसन, घुसखोरी, भ्रष्टाचार सरकार र समाजका हरेक अंगमा जुका टाँसिएझैं टाँसिएको छ, भूकम्प पीडितका लागि आएका जस्तापाता बेच्नेदेखि नाकाबन्दी बीच अलिअलि आएको तेल पनि कालाबजारीलाई बेच्ने सम्मका पछिल्ला देखिएका बिकृतिका ठुला स्टन्टहरू हुन्।

राजनैतिक नेता, कर्मचारी अनि समाजका अन्य केही पात्रहरू यसका प्रतिविम्ब बनेर जताततै नाचिरहेका छन्, यस्तै विकृतहरूको सफाइका लागि अहिलेको नेतृत्वले नसक्ने ठम्याईमा रहेका जनहरूनै नयाँ शक्तिको ब्यग्र प्रतिक्षामा छन। के नयाँ राजनैतिक नेतृत्व जन्मन कुनै सडक आन्दोलन नै हुन जरुरी छ? समय परिस्थितिसँगै जुधेर जनमानसको आशा र अपेक्षासँग एकाकार हुन नसक्ने नेतृत्वहरू बिस्थापित भई नयाँ आउन संभव हुदैन र? आजको युगमा दशकौं या शताब्दीऔं पुराना कुनै विशेष ठाउँमा अपनाइएका राजनैतिक सिद्दान्तहरू फरक परिस्थिति, भूगोल र समाजमा हुबहु मिल्छन त? सकारात्मक सामाजिक अभियानकर्ताहरू राजनैतिक नेतृत्व गर्न सफल होलान्? यस्तै प्रश्नहरूसँग जकडिएको छ नयाँ शक्तिको आगमन!

नयाँ नेतृत्व कहिले?

कुनै पनि सामाजिक या राजनैतिक अभियान शुरु गर्न कुनै ज्योतिषले समय बताउनुपर्ने अवस्था बाहेक देश यस्ता पीडाहरूबाट गुज्रिइरहेको छ कि साँच्चै नयाँ अभियान शुरु गर्न धेरै अवसरहरू आए तर किन त्यस्ता अवस्थामा यी अभियानहरू शुरु हुन सकेनन्?

बैशाखको भूकम्पले देशमा ठुलो क्षति गर्‍यो,  हजारौंको ज्यान गयो, जनजीवन महिनौंसम्म अस्तव्यस्त भयो, बिपद व्यवस्थापनमा सरकारी संयन्त्र आफैंमा भद्रगोल भयो, राजनैतिक पार्टीहरु कहाँ थिए थाहा थिएन, यस अवस्थामा सामाजिक अभियानकै रुपमा उद्दार, सहयोग र पुननिर्माणमा चुस्त संयन्त्र बनाएर सरकारी संयन्त्रलाई सहयोग गर्न सकेको भए यसले निकै उचाई लिने थियो तर यसो हुन किन सकेन? विवेकशील नेपाली नामको दल दर्ता गरेका केही जुझारु युवाहरूले केही सह्राहनीय प्रयास गरे तर यस्ता पहलहरू अलि बृहतरुपमा जानु जरुरी थियो जसले सबल राजनैतिक नेतृत्वको अवसर दिने थियो।

यदि समाजका प्रतिष्ठित व्यक्तिहरूले यसका लागि आह्वान गरी नेतृत्व लिएको भए लाखौं स्वयंसेवी त्यस समयमा साथ दिन तयार हुने थिए। उद्दार र राहत वितरणमा एउटा राम्रो संयन्त्र बनाई सरकारलाई सहयोग गर्न सकिने थियो, लाखौं संरचनाहरू ध्वस्त भएको यस बिपदलाई हामीले अवसरमा रुपान्तरण गर्न सक्नुपर्ने थियो, यस काममा नयाँ सामाजिक अभियान शुरु गर्न सकिने थियो, भवनहरूको निरीक्षणका लागि केही दिनपछि नेपाल इन्जिनियर्स एशोसिएशन  लगायत अन्य संस्थाहरूले गरेको काम जस्तै स्वयंसेवी कामहरूको नेतृत्व गर्न सक्ने थियो, स्थानीय स्तरमै पुननिर्माणका लागि बिज्ञहरू पठाएर योजनाहरू बनाउन, छलफल गर्न सकिने थियो जसले समाजमा नयाँपनको आभास दिने थियो।

अब बन्ने संरचनाहरू दिगो र बिपद प्रतिरोधी बनाउन, भूउपयोग नीति बनाई सो अनुरुपको बस्ती विकास गराउने अवसर अहिले आएको छ। तर सराकरी ढिलासुस्तीले मानिसहरू पुरानै संरचनाहरू, पुरानै प्रविधि र पुरानै ठाउँमा जोखिमपूर्णरुपमा बसिरहेका छन। सरकारले बनाउने भनेको पुनर्निर्माण प्राधिकरण अहिलेसम्म बन्न सकेको छैन र बनिहाले पनि त्यसको काम पनि पुरानै ढर्रामा जाने निश्चित जस्तै छ। यस्तो अवस्थामा बौद्दिक समुहको समन्वयमा स्थानीय स्तरमै र राष्ट्रियस्तरमा केही काम गर्न सकिने थियो र अझै पनि छ।

राजनैतिक संकटका यस अघिका घडीहरू, संविधान बन्न नसकेका ती समयहरू, पछिल्लो समयमा मधेश आन्दोलन, भारतीय नाकाबन्दी, संविधानका अन्तर्वस्तुहरूका बारे ‘नयाँशक्ति’ बारे भनिएका बहसहरूमा किन ठाउँ दिइएन, यी कुराहरूका बारे आफ्नो स्पष्ट धारणा त्यस्ता बहस गर्नेहरूका तर्फबाट आउनु पर्ने होइन र?

राजनैतिक संकटका बेला देशले कस्तो बाटो लिनुपर्छ भनेर ‘नयाँशक्ति’को बहस गर्नेहरूले सुझाउने र जनतालाई बुझाउनुपर्ने होइन र? यदि अहिलेका राजनैतिक दलहरू गलत दिशामा गइरहेका छन् भने त्यसलाई सच्याउन लगाउने, खबरदारी गर्ने र जनतालाई यस्तो हुनु राम्रो हो, यो गलत हो भनेर बुझाउनु पर्ने होइन र? सामयिक विषयहरूमा कुनै धारणा नआउने मात्र काल्पनिक लाग्ने सपनाहरू जस्तो देखाएर यस्तो बन्नु पर्छ र उस्तो बन्नुपर्छ भन्ने लेखहरूमात्रै लेखेर कहिले र कसरी आउनसक्छ नयाँ नेतृत्व?

कसरी बन्न सक्छ ‘नयाँ शक्ति’?

हामीसँग रहेका विविध शक्तिहरूको सही संयोजन गरी देशलाई आमुल परिवर्तन गराउने अठोट भएका नेतृत्व नै ‘नयाँ शक्ति’को रुपमा बुझिनुपर्छ। मूल नेतृत्व एकल व्यक्ति हुनसक्ला तर समग्र नेतृत्व एक संस्था या पार्टी बन्नुपर्छ। मूल नेतृत्व सबै विषयको बिज्ञ हुनुपर्छ भन्ने छैन तर समग्रमा बुझ्ने र सम्बन्धित विषयका बिज्ञहरूको सहकार्यमा अगाडि बढ्ने व्यक्तिले लिनुपर्छ।

देशको सर्वांगिण विकासका लागि आवश्यक उर्जा जलविद्युतबाट मूल रुपमा पूरा गर्न सकिन्छ, यसका लागि पनि अभियान शुरु गरी निर्माणका लागि आवश्यक श्रोत जुटाउन सहयोग गर्न सकिन्छ यद्यपी यो कुनै राजनैतिक या सामाजिक अभियानका रुपमा भन्दा फरक, व्यवसायिक कुरा हो। तर कमसेकम नयाँ नेतृत्वले लिने नीतिमा उर्जा प्रमुख हुनुपर्छ।

'नेपाल कृषिप्रधान देश हो' भनेर हामीले जमानादेखि पढ्दै भन्दै र सुन्दै आयौं तर हाल कृषि उपजहरू समेत बिदेशबाट आयात गर्नुपर्ने अवस्थामा कसरी आयौं? हाम्रा खेतबारी बाँझो राखेर बिदेशमा कौडीको भाउमा पसिना बेच्न किन बाध्य भयौं? यी समस्याको समाधान गर्न कृषिमा आधुनिकिकरण गर्ने मुल मन्त्र हुनुपर्छ, यससँगै अन्य साना तथा मझौला उद्योगहरु फस्टाउन थाल्नेछन्।

यसका लागि कृषि समूहहरू बनाउने, प्राविधिकको व्यवस्थापन गर्ने गरी अभियान शुरु गर्न सकिन्छ। कृषि तथा वन विश्वविद्यालयका विद्यार्थीहरूलाई बिज्ञहरूबाट तालिम दिई प्राविधिकको रुपमा ब्यवस्थापन गर्न सकिन्छ। प्रत्येक गाउँ नगरहरूमा स्थानीय विकास तथा निर्माणका योजनाहरू बनाउन सहयोग गर्ने हेतु बार्षिक हजारौंको संख्यामा बिभिन्न विश्वविद्यालयका इन्जिनियरिङका अन्तिम वर्षका विद्यार्थीहरूलाई तालिम सहित सहभागी गराउन सकिन्छ जसले विद्यार्थी स्वयंसँगै स्थानीय विकासमा धेरै फाइदा पुग्छ।

हाम्रो पर्यावरण, भौगोलिक विविधता र सुन्दरतालाई व्यवस्थापन गरी पर्यटन विकासमा लाग्न समाजलाई उत्प्रेरित गराउने, सामाजिक विविधतालाई उसैगरी प्रबर्धन गर्ने जसले सबैको सम्मान र पहिचान पनि बचाएर राख्नेछ। निश्चित समयमा विविध ठाउँमा त्यहाँको संस्कृति, रहनसहन, भेषभूषा सहितको विशेष प्रदर्शनीहरू गराई त्यसलाई राष्ट्रियरुपमै आन्तरिक विशेष पर्यटनको केन्द्र बनाउन सकिन्छ।

यी त भए केही उदाहरण तर सामाजिक रुपमा गर्न सकिने अन्य धेरै यस्ता कामहरू छन् जसले समाज परिवर्तन गर्न सहयोग गरोस्, निराश मनहरूमा केही आशाका किरणहरू छरिदेओस्, आगामी निर्वाचनमा दिल खोलेर सत्ताको चाबी उसैलाई बुझाउन जनता ब्यग्र होउन। विदेशिएका जनशक्ति घर फर्कन आतुर होउन्।

कुनै एक पेशामा सफल हुँदैमा सबैतिर सफल भइन्छ भन्ने छैन तर कम्तीमा एक तहको आत्मविश्वास, जनताको भरोसा रहन्छ नै जसले सही भिजन र व्यवस्थापन गर्न सक्यो भने सफलता हात लाग्ने संभावना धेरै हुन्छ। साँच्चैनै नयाँ शक्ति बनाउने अठोट हो भने अझै अबेर गर्नु भनेको आफैलाई विश्वास गर्न नसक्नु हो। प्रष्ट नीति सहित अभियान शुरु गर्न ढिला गर्नु हुँदैन। राजनीति सङ्लिएको अवस्थामा जनताले फेरि नयाँ नेतृत्व खोज्लान् भनेर भन्न सकिन्न, उबेला पाइएन अहिले चाहिएन भन्ने दिन आउन सक्छ। ‘रिटायर्ड क्लब’ मात्र बनाउने चाहना हो भने जनतालाई सेन्टिमेन्टल ललिपप देखाउनुको कुनै तुक हुने छैन।


अझैपनि बहसमै मात्र रहने, पत्रिका, अनलाइन र सामाजिक सञ्जालका भित्ताहरू रंगाउने, जनतालाई आशा देखाउने चरणमै रहेर यस्ता अवसरहरूमा पनि माथि जाने आँट नगर्ने हो भने, फेरि एकपटक केही जनतामा पलाएको आशा गर्भमै तुहिने निश्चित छ। अब “मान्छे तिनै हुन्, कुरा यिनै हुन” भन्ने दिन नआओस्। हालै टेलिभिजनहरूमा आइरहेको टेलिश्रृङ्खला “सिंहदरबार” हेर्दा धेरै हदसम्म हामीलाई आवश्यक नेतृत्वको कथा देख्न पाइन्छ, भलै नाटकमै होस् ‘नयाँशक्ति’ बनेर गौरी मल्ल प्रस्तुत भएकी छिन्। आशा गरौं ‘नयाँशक्ति’ यस्तै नाटकहरुमै मात्र देख्न पर्नेछैन।

नयाँ शक्तिः यसरी शुरु गरे कसो होला? भनेर डेढ बर्ष अघी पनि लेखिएको थियो।

You Might Also Like

0 comments: