नयाँ शक्तिः यसरी शुरु गरे कसो होला?

June 04, 2014 Rishi Ram Parajuli 0 Comments


कुनैपनि राजनैतिक शक्ति नत फेसबुक, ट्विटरजस्ता सामाजिक संजालका लाईक, शेयर र फलोअरबाट मात्रै संभव छ नत पत्रिकाका भित्रि पृष्ठहरुबाटनै उदाउने हुन।

उस्तै हुने भए पुरानै राडी छँदैछ नयाँ काम्लो केका लागी चाहियो?

नेपालमा नयाँ शक्तिको बहस अब नयाँ रहेन, निकै पहिलेबाट शुरु भएको यो बहस जारी छ, विशेषत यो केही बौद्दिक बर्गमा मात्रै सीमित छ कारण यो बहसमै छ, सामान्य जनताले यो बहसमा पहुँच बनाउन सकेका छैनन। यसरी केन्द्रका तथा मोफसलका केही मिडियामा हुने गरेका बहसले सार्थकता कहिले पाउलान? कसरी पाउलान? के यी बहस मात्रै "बहस"कै लागि भइरहेका छन? हामीले समाज रुपान्तरण र बिकासमा कसरी काम गर्न सकिएला? यिनै सम्बन्धमा आफ्ना मनमा लागेका कुरा यहाँ राख्ने कोसीस गरेको छु।
मुख्यत नयाँ शक्तिको बहसमा दुई धार देखिन्छ जसमा एक राजनीतिक जीवनमै सक्रिय र अर्को धार सामाजिक तथा पेशागत जीवनमा रहेका केही परिचित अनुहारहरू। राजनीतिक धारबाट नयाँ शक्तिको कुरो उठान गर्ने काम डा. बाबुराम भट्टराई सहितको टोलीले गर्दैछ जसको मुख्य प्रयास अहिलेकै राजनीतिक पार्टीहरूलाई नयाँ शक्तिको रुपमा बदल्ने देखिन्छ। अर्को धार जसमा पत्रकार रबिन्द्र मिश्र सहितको पेशागत जीवनमै क्रियाशिल समुहको छ जसले नयाँ राजनीतिक पार्टीकै आवश्यकता भएकोमा जोड दिदै बहस जारी राखेका छन। 
हालसम्म बहसमा क्लिस्टरुपमा केही मोडेलहरू पनि प्रस्तुत गरिए तर कार्यान्वयनकै तहमा जान सक्ने गरी बिस्तृतमा कुनै पनि योजनाहरू ल्याईएको देखिदैन। देश पछि परेको छ यसको विकासका लागि समयानुरुप नयाँ अबधारणा सहितको नेतृत्व आवश्यक छ भन्नेमा कसैको बिमति रहने कुरा भएन। नयाँ नेतृत्व कहाँबाट र कसरी आउन सक्छ भन्नेमा पनि निकै छलफल भए र तिनी सबैको निश्कर्ष भनेको नेपाल भित्रै र हाम्रै समाजबाटै आउछ भन्ने नै हो जुन कुरा अकाट्य छ।
नयाँ शक्तिका कुरा धेरै भए, अब पनि धेरै कुरा मात्रैभन्दा केही काम पनि शुरु गरौं न। के हामीले आ-आफ्नो क्षमता र दक्षता अनुसार हाम्रा आफ्ना स्थानीय क्षेत्रमा केही काम गर्न सक्दैनौं र? आफूले देखेका र सोचेका केही योजनाहरू यहाँ प्रस्तुत गर्न चाहन्छु।

धेरै लगानी बिना नै स्थानीय स्तरमा गर्न सकिने केही कामहरू 


हामीसँग धेरै श्रोतहरू उपलब्ध छन जसको हामीले राम्रो प्रयोग गर्न सकेका छैनौं, यसमध्ये मानव श्रोत मुख्य रुपमा उपयोग बिहीन भएको छ या भनौं हामीले यसलाई खेर फालिरहेका छौं। यहाँ केही चर्चा गरौं विद्यार्थीहरूको उपयोग बारे जसमा इन्जिनियरिङको मुख्य चर्चा गरौं।
  • हाम्रा धेरै गाउँ या नगरपालिकामा अहिले कम्तीमा उच्च माध्यामिक विद्यालय छन, यिनमा पढ्दै गरेका विद्यार्थीहरूलाई उनीहरूको आफ्नै पाठ्यक्रम अन्तर्गत पर्ने गरी सामाजिक तथा आर्थिक सर्बेक्षणहरू प्रत्येक वर्ष गराउन सकिन्छ जसले विकास तथा अन्य योजना तर्जुमा गर्न सहयोग पुर्याउने गर्दछ।
  • अहिले घोषित नगरपालिकाहरूको हकमा धेरै जसोमा ब्याचलर सम्मका क्याम्पस छन जसको सहयोगमा माथि उल्लेखित काम गराउन सकिन्छ। 
  • हाल नेपालमा बार्षिक ७३३८ जना विद्यार्थी इन्जिनियरिङ विषय अध्ययनका लागि भर्ना हुन्छन (नेपाल इन्जिनियरिङ काउन्सिलको स्विकृतिमा रहेका कलेजहरूको कोटा अनुसार)। जसमध्ये सिभिल इन्जिनियरिङ अध्ययनका लागि मात्रै २८५३ विद्यार्थी भर्ना हुन्छन र अन्यमा ४४८५ जना।
  • हामी विकासमा पछि परेकै छौं त्यसैले विकासको मुल फुटाउन धेरैभन्दा धेरै इन्जिनियरहरू आवश्यक छन यस हिसाबले यो संख्यालाई निकै राम्रो मान्न सकिन्छ तर के यी विद्यार्थी देशमै रोजगार भएर बसेका होलान त? अहँ अहिले को हकमा GRE, IELTS को तयारी अनि खाडीमुलुकको भिषा कुर्ने संख्या बढ्दै गइरहेको छ, यस तर्फ नजाउँ।
  • पहिलो काम यो जनशक्तिलाई पढाईकै शिलशिलामा हामीले उपयोग गर्नुपर्छ जसले विद्यार्थीको क्षमता समेत बृद्दि गर्छ। यसका लागि अहिले को व्यवस्था अनुसार अन्तिम वर्षमा गरिने प्रोजेक्टको लागि अनिवार्य रुपमा कुनै एक नगरपालिका या गा. बि. स.सँग समन्वय गरी त्यस क्षेत्रको सर्बेक्षण तथा आवश्यक परियोजनाहरूको डिजाइन समेत गराउन सकिन्छ। यसका लागि कुनै ठुलो खर्चको आवश्यकता पर्दैन। अहिले या त आफ्नै सुपरभाइजरले गर्दै गरेको काममा या कागजी योजनामा काम गराउने चलन छ।
  • सबै दुर्गम गाबिसहरूमा पुगेर छोटो समयमा काम गराउन असहज होला तर नेपालमा अहिले घोषित १३० नगरपालिकाहरू (जसले नेपालको मुख्य बस्तीहरू ओगटेको छ)को लागि मात्रै पनि यदि नगरपालिकाहरूको लागि मात्रै काम गराउने हो भने पनि सरदरमा करिब २०भन्दा धेरै सिभिल इन्जिनियरहरू एउटा नगरपालिकाको लागि उपलब्ध हुन सक्छन। एक छिन सोचौं त यदि प्रत्येक वर्ष २० जना इन्जिनियरहरूले ५ दिन मात्रै पनि स्थलगत सर्बेक्षण तथा आवश्यक परियोजनाहरूको योजना तर्जुमा अनि डिजाइन गरिदिने हो भने स्थानीय स्तरमा कति काम हुन सक्छन। सडक योजना, खानेपानी, भवन, ढल आदि सम्पूर्ण कार्य गराउन सकिन्छ।
  • यसरी काम गराउदा त्यहाँ विद्यार्थीसँगै सुपरभाइजरको रुपमा शिक्षक पनि हुने हुनाले यस्ता सर्बेक्षण र डिजाइन भरपर्दा नै हुन्छन।
  • यसमा थप ओभरसियर पढाई हुने गरेका कलेजहरू र तिनले गराउने यस्तै प्रोजेक्टहरू पनि थपौं अझै कति काम हुनसक्ला?
  • यहाँ कुरा गरिएको सिभिल इन्जिनियरहरूको अन्तिम वर्षको प्रोजेक्टको मात्रै हो यस बाहेक तेस्रो वर्षमा करिब १०-१५ दिनको क्याम्प बसेर नै सर्भे गराउने गरिन्छ जसका लागि सहजतामात्रै हेरेर कीर्तिपुर या अन्य कुनै कलेज, खरिपाटी या कुनै होटल को बिस्तृत सर्भे गराइन्छ तर यदि स्थानीय निकायबाट केही सहजता प्रदान गरी आफ्नो क्षेत्रको सर्भे गराउने हो भने विद्यार्थीले आफूले बास्तविक कामको अनुभव लिन पाउने छन भने करिब ५-७ वर्षमा हाम्रा शहरी क्षेत्रहरू पूर्ण डिजिटाईज हुनेछन कुनै पनि दाताको सहयोग बिनै।
  • यी माथिका बुंदामा सिभिल इन्जिनियरिङको मात्रै केन्द्रित गरियो तर अन्य बिधाका इन्जिनियरिङ विद्यार्थीहरूले पनि आ-आफ्नो बिधा अनुसार बिभिन्न काम गर्न गराउन सकिन्छ। यस्तै कृषीअध्ययनरत विद्यार्थीहरूबाट यसरी नै आ-आफ्नो क्षेत्रको माटो परिक्षण, उपयुक्त बालीहरुको पहिचान, बिबिध समस्याहरुको पहिचान तथा निवारणमा सहयोग लिने काम गर्न सकिन्छ। स्वास्थ्य क्षेत्रका बिध्यार्थीहरु सहितको सहयोगमा घुम्ति शिविरहरु बार्षिक रुपमा गराउने सहितका अन्यकामहरु गर्न सकिन्छ।
यी त भए केही बुँदा कुनै ठुलो लगानी बिनै स्थानीय स्तरमा गर्न गराउन सकिने काम, यससँगै यस्तै धेरै योजनाहरू तपाईका पनि हुनसक्छन जसका लागि सरकारी नीतिको आवश्यकता छ होला तर पनि के सरकारी नीति नै कुर्नुपर्छ र? स्थानीय नेतृत्व तथा बुद्दिजीवि बर्गले यसका लागि पहल गर्ने हो भने तत् ठाउँमा तुरुन्तै लागु गर्न सकिन्छ। यससँगै प्राप्तहुने बिभिन्न डाटाहरूको सहयोगमा प्रत्येक क्षेत्रका बिभिन्न पेशाका बिज्ञहरूले महिनाको १-२ दिन आफ्नो क्षेत्रको योजना तथा कार्यान्वयनमा सहयोग गर्न सकिन्छ।

अहिले नयाँ शक्तिको विशेष चर्चा भइरहँदा, यसमा देखिने अनुहारहरू कुनै न कुनै रुपमा आ-आफ्नो क्षेत्रका बिज्ञहरू नै हुनुहुन्छ। त्यसैले आजै देखि स्थानीय रुपमा आफ्ना ठाउँका बिबिध क्षेत्र तथा बिषयका बिज्ञहरूको रोस्टर तयार गरेर आवश्यकता अनुरुप सहयोग लिन दिन पनि शुरु गरौं न, यसका लागि व्यक्ति सोही स्थानमै उपलब्ध हुनुपर्छ भन्ने पनि छैन, देश बिदेशको जुन कुनाबाट पनि सहयोग गर्न सकिन्छ।

कुनैपनि राजनैतिक शक्ति नत फेसबुक, ट्विटरजस्ता सामाजिक संजालका लाईक, शेयर र फलोअरबाट मात्रै संभव छ नत पत्रिकाका भित्रि पृष्ठहरुबाटनै उदाउने हुन,  कुनैपनि दल, “शक्ति” बन्नको लागी जनस्तरको बिश्वास, भरोसा र सहयोग अपरिहार्य छ। जनस्तरमा राजनैतिक पार्टिप्रतिको धारणा यति खस्किएको छ कि गफ र भाषणकै भरमा कसैले पनि कसैलाई बिश्वास गर्ने आधार छैन, यसका लागी त पुरानै राडी छँदैछ नयाँ काम्लो केका लागी चाहियो?
साँच्चै नयाँ राजनैतिक शक्तिको परिकल्पना गरिएको छ भने त्यो गाउँ टोलस्तरको जग बिना संभवनै छैन, पत्रिकाका लेख र अन्तर्बार्ताहरूबाट मात्रै जग बन्दैन, जागरणको लागी आवश्यक बहस भएको छ अब कामसँगै बहसको निरन्तरता दिनसके मात्र यसले सार्थकता पाउनेछ। कुरा मात्रै गरेरभन्दा यसरी अघि बढ्न सकियो भने स्थानियस्तरमा पनि नयाँ जुझारु नेतृत्व तयार हुन्छ जसले स्थानियरुपमा राम्रो प्रभाव पार्न सक्छ तथा यससँगै नयाँ शक्ति निर्माणको जग बसाल्न सक्छ। 
(Published on onlinekhabar) 

You Might Also Like

0 comments: