भुकम्प, यसको असर र जोखीम

September 10, 2013 Rishi Ram Parajuli 0 Comments


(भाद्र २६,२०७० को नागरिकमा प्रकाशित)

यहि भाद्र १४ गते रातको लगभग ११:३५ को आसपासमा नेपालको मध्यभाग ६ रिक्टर स्केल(स्थानिय मापन)को भुईचालोको कारण हल्लिन पुग्यो, सामाजिक संजालहरु एकै पटक भुकम्पमय बने, सबैजना यस प्रति चनाखो बनेको देखियो। UNDP को बिपद् ब्यबस्थापन संबन्धि संस्थाले २००४ मा निकालेको रिपोर्टको आधारमा बिश्वमा भुकम्पिय जोखिमको ११औं स्थानमा पर्ने देशमा हाम्रो तयारी कस्तो छ त? के हाम्रो समाजमा यस्ता भुकम्प आउदा के गर्नुपर्छ, कसरि सुरक्षित रहनुपर्छ भन्ने जनचेतना राम्रो छ त? हिजोकै केहि प्रतिक्रिया हरु हेर्दा र बुझ्दा यसको कमि देखिन्छ। पछिल्ला बर्षहरुमा भुकम्प आउने क्रम बढ्न थालेको देखिन्छ र यसले केहि बर्ष भित्रैमा ठुलै भुइचालो जान सक्छ भन्ने पनि बुझ्न सकिन्छ। भाग्यबस अहिले ठुलो भुईचालो आएको छैन, हामीले सानासाना भुइचालोहरु महसुस गरेका छौं, त्यसैले राजधानीमा ठुलो क्षति हुन पाएको छैन।
नेपालमा भुईचालोको ईतिहास करिब ई. सं. १२५५ देखिको रहेको पाईन्छ जुन समयमा काठमाण्डौंका एक तिहाई देखि एक चौथाई हाराहारी मानिसले ज्यान गुमाएको बताईन्छ। त्यस भन्दा पहिले पनि भुईचालो नगएका होईनन तर कुनै पनि यकिन समयका तथ्यहरु फेला नपरेका मात्र हुन।  यस्तै सन १४०८, १८१० मा पनि ठुला भुईचालो गएका थिए तर यसको यकिन तथ्यांक भेटिएको छैन। सन १८३३ देखि कुनै रुपमा तथ्यांकहरु पाउन सकिन्छ जुन समयमा ७.८ रिक्टरको भुइचालोका कारण काठमाण्डौंका करिब ५०० मानिसले ज्यान गुमाएका थिए। पछिल्लो सन १९३५ (बि. सं. १९९० माघ २) को भुईचालोलाई सबैभन्दा ठुलो भुइचालोको रुपमा लिईन्छ जसको कारण करिब १६००० मानिसको ज्यान गएको थियो। यसै महाभुकम्पको सम्झना र समाजमा भुकम्प संबन्धि जनचेतना फैलाउनको लागी त्यस दिनलाई प्रत्येक बर्ष भुकम्प दिबसको रुपमा मनाउन थालियो। यस बिचमा नेपाल वा भारतका बिभिन्न स्थानमा केन्द्रबिन्दु भएर गएका बिभिन्न भुकम्पको कारण पनि कयौं नेपालीले ज्यान गुमाइसकेका छन।
एक अनुसन्धानले हाम्रो देशको डिजाईन कोड (मापदण्ड) र प्रचलित निर्माण प्रबिधिले निर्मित संरचनाहरु अन्य मापदण्ड (ATC-40 FEMA-356) बाट निर्मित संरचना भन्दा बढि जोखिममा रहेको जनाएको छ। पछिल्लो समयमा बिभिन्न नगरपालिकाहरुले भुकम्पिय प्रतिरोधि भवनसंहिता लागु गरेकाले नक्सा बनाउदा अनिबार्य पर्ने ठाउँमा मात्र आम मानिसले घर बनाउदा नक्सा बनाउने गर्दछन तर यि मध्ये करिब ८५% (अनुमान) घर हरु नक्सामा रहेको संरचनागत डिजाईन नअपनाई, सामान्य निर्माण ठेकेदारको भरमा बन्ने गरेका छन। निकै कम मानिसले मात्र ईन्जिनियरको रेखदेखमा आफ्नो घर बनाउने गरेका छन। यस किसिमले निर्माण गरिएका संरचना कति बलियो होलान त? हामी सहजै अनुमान लगाउन सक्छौं।
काठमाडौं किन धेरै हल्लिन्छ अन्य स्थानको तुलनामा? संरचनामा कस्तो असर पर्छ?
काठमाडौंको भु-बनोट बिशिष्ट प्रकृतिको छ, ताल पुरिएर बनेको भनिने काठमाडौं उपत्यकाको अधिकांस भागमा धेरै तलसम्म कालो माटो मात्र पाईन्छ, कडा चट्टान धेरै तल मात्र रहेकोछ। भुकम्पिय तरङगको गति कडा बस्तुमा जति छिटो हुन्छ, नरम बस्तुमा त्यतिनै ढिला हुन्छ त्यसैले जब भुकम्पिय तरंग तलको कडा चट्टानबाट माथी नरम माटोमा आउछ, यसको गति ढिला हुन्छ तर यसको गति ढिला भए संगै यसको हल्लिने सिमा धेरै हुनजान्छ, छिटो हल्लिदा १० सेमि मात्रै यताउता हल्लिन्थ्यो भने ढिलो हल्लिदा ३० सेमि हल्लिन सक्छ (यसलाई एम्प्लिफिकेसन भनिन्छ)। त्यसैले भु-बनोट नरम भएका ठाउहरुमा धेरै हल्लिएको महसुस हुन्छ। काठमाडौंको त्यस्तै नरम भु-बनोट भएको कारणले महसुस धेरै भएको हो। यहि कारणले नै टाढा केन्द्रबिन्दु भएको भुकम्पको असर अन्य क्षेत्रमा भन्दा काठमाडौंमा बढि पर्ने गरेको छ।
संरचनाहरुमा पर्ने भुकम्पिय असर यसको उत्पन्न प्रकृति, केन्द्रबिन्दु को दुरी, तरंगको दिशा र संरचनाको अबस्थितिमा भर पर्छ। कुनै एक भुकम्पको लागि कुनै निश्चित क्षेत्रमा संरचनाको अबस्थिति बाहेक अन्य कुरा एकै हुन्छन तर पनि हुने क्षति फरक हुन सक्छ, यदि संरचना बर्गाकार छ भने त्यसमा जुन कुनै दिशाबाट आएको तरंगको असर एकै हुन जान्छ तर यदि आयाताकार छ भने त्यसमा तरंग कुन दिशाबाट आएको छ त्यसले पनि असर गर्छ। नरम भु-बनोट भएको र धेरै हल्लिने क्षेत्रमा अग्ला संरचना बढि जोखिममा हुन्छन भने कडा चट्टान माथि बनेका अग्ला संरचनाहरु पनि बढि जोखिममा हुदैनन।
जोखिम कम गर्न के गर्न सकिन्छ त?
भुकम्पिय जोखीम कम गर्न हामीले संरचना निर्माणमा मुख्य ध्यान दिनुपर्छ जसले भविष्यको नोक्सानी कम गर्न सहयोग पुर्याउँछ। नया संरचना निर्माणको बेला यदि हामीले राम्रो संग ध्यान दिन सक्यौं भने मात्र १०%को अतिरिक्त खर्चमा ५०% धेरै सुरक्षा प्राप्त गर्न सकिन्छ। भुकम्प आफैले कसैलाई मार्दैन, हामी आफैले खडा गरेका संरचनाहरु कमजोर हुदा तिनैको कारण मृत्यु सय्यामा पुग्न सकिन्छ। त्यसैले संरचनाहरुको निर्माण गर्दा बिशेष ध्यान पुर्याउँ। बलिया संरचनाका साथसाथै भुकम्प आएको बेला आफ्नो वरिपरि रहने अन्य सामानहरु जस्तै दराज, र्याक, भित्तामा वा माथि राखिएका गर्हुंगा सामानहरु पनि क्षतिको कारण बन्न सक्छन त्यसैले त्यस्ता सामानहरु बलियो संग राखौं ताकि भुईचालो जादा यस्ता सामानहरु नझरुन या नपल्टिउन।
भुकम्प आएको महसुस हुनासाथ भाग्न थाल्नु मुर्खता हो, त्यसो गर्दा वरिपरि रहेका सिसाहरु फुटेर, सामानहरु झरेर, इट्टाहरु झरेर लाग्न सक्छ, त्यसैले भुकम्प महसुस हुनासाथ पहिले आफ्नो नजिकै रहेको सुरक्षित स्थान जस्तै टेबलमुनि या खाटमुनि या यस्तै अन्य कुनै सुरक्षित स्थानमा बसिहाल्नुपर्छ। जब भुकम्पको धक्का सकिन्छ त्यसपछि साबधान पुर्बक नजिकै रहेको खुल्ला स्थानमा गएर बस्नुपर्दछ। कुनैपनि भुकम्पको धक्का एक पटक मात्रै आउछ भन्ने छैन धेरैजसो समय दोहोर्याएर आउने गर्छ, मुख्यत कुनै ठुलो भुकम्प जादा यसको अघि र पछि साना भुकम्प जाने गर्दछन त्यसैले केहि समय साबधानपुर्बक रहनुपर्दछ।
कुनै पनि समयमा जानसक्ने महाभुकम्पबाट तत्कालिन समयमा सुरक्षित रहनुका साथसाथै यसका लागी पुर्बतयारी गर्नुपनि महत्वपुर्ण छ। आफ्नो घर परिवारका सदस्यबिचमा कस्ता ठाउँहरु सुरक्षित हुनसक्छन, घर वा कार्यस्थल बाहिरका सुरक्षित स्थानहरु कुन कुन छन भन्नेबारे छलफल गर्नुपर्दछ। बिपद्का बेला चाहिने अत्याबस्यक सामाग्रीहरु जस्तै पानी, केहि खानेकुरा, प्राथमिक उपचारका सामाग्री, सिट्ठी आदि बस्तुहरु ईमर्जेन्सी ब्यागमा सधै राख्ने जसलाई बिपदको बेला छिटो लिन सकियोस भनेर सबैले देख्ने र सहज ठाउँमा राख्नुपर्दछ।   आफैं सचेत हुदा मात्र पनि धेरै क्षति कम गर्न सकिने हुँदा सबैजनामा भूकम्प संबन्धी सचेतना जरुरी छ। भुकम्प आएको दिन र माघ २ गते (भूकम्प दिबस)को दिनमात्र होईन अन्य समयमा पनि यसबारे चर्चा हुनु र जनचेतना फैलाउनु जरुरी छ।

You Might Also Like

0 comments: