जापानी नदीमा नेपाली र्याफ्टिङ

August 02, 2013 Rishi Ram Parajuli 0 Comments

"हेलो, गुड मर्निङ सर, वेलकम, प्लिज फिल आउट दिस फर्म" सायद मलाई हेर्दा जापानिज नलागेरै होला (जापानिज हरु संग जापानिज भाषामै कुरा गर्दै थिए) बिदेशि जस्तै देखिने एक कर्मचारीले मलाई फर्म भर्न दिए, मैले भर्न लागें, ऊनि त्यसरीनै अन्यलाइ पनि फर्म भराउन लागे। मैले फर्म भरिसकेपछि जब उनलाइ दिएँ अनि हेरे र भने "आर यु फ्रम नेपाल?"
यो संबाद केहि समय पहिले हामी ८ जना साथीहरु क्योटो, जापानको कामोगावा भन्ने नदिमा र्याफ्टीङको लागि यहिको एउटा कम्पनीमा गएका थियौं, त्यसबेला भएको थियो। मैले हो म नेपाली हुँ भनें र सोधें तपाईको चाहिं, उनले आफु भारतको उत्तराखण्डबाट आएको जानकारी दिए र भने, यहाँ लगभग सबै नेपाली छन जसले तपाईलाई र्याफ्टिङ गराउने छन। मेरो मन त्यसै प्रफुल्लित भएर आयो, मैले उनिहरुलाई भेट्न खोजें तत्कालै तर उनिहरु बिहानीको खाजा खादैछन भन्ने थाहा पाएपछि अब नदिमा जान लाग्दा नै भेट्नु पर्ला भन्ने सोचें। त्यहाँ संयुक्त रुपमा र्याफ्टिङको समयमा आउन सक्ने समस्या र त्यसबेला हामीले अपनाउनु पर्ने केहि सुरक्षा संबन्धी टिप्सहरु दिए र प्रत्यकलाई आबश्यक सम्पुर्ण सामान लिएर नदि तर्फ लागियो।


र्याफ्टिङ शुरु गर्नु अघी सुरक्षा सम्बन्धी जानकारी दिदै किशोर



र्याफ्टिङमा पर्यटक सहित किशोर

हामी नदि किनार पुग्दा र्याफ्टिङ बोट लिएर उभिइरहेका मानिसहरु हेर्दा लगभग सबै नेपाली जस्तै देखें, अनि भनें नेपालीमै, "तपाईहरु सञ्चै?" उनिहरु मुखामुख गर्दै इक अर्कालाइ हेरे र अनि भने "सञ्चै, तपाई नेपाली? हामिले यहाँ अहिले सम्म अन्य नेपाली भेटेका थिएनौं आज धेरै खुशी लाग्यो" त्यसबेलाको उनिहरुको प्रफुल्लित मुहार हेर्दा म पनी तरंगित भएँ, चेपेकै किनारामा साथीभाइ संगै खेलेका ति दिन संझिएँ, अनि भनें हो, मैले अघि थाहा पाएँ यहाँ नेपाली हरु हुनुहुन्छ भनेर, तपाईहरुलाई देख्दा खुशि लाग्यो, नेपाली नदिमै गएर रमाएको अनुभव हुने भयो, सामान्य कुराकानीपछि हाम्रो यात्रा शुरु गर्नु अघी र्याफ्टिङको समयमा ध्यान दिनु पर्ने कुराहरु फेरी भनियो। हाम्रो टोलीमा जापानी साथै अन्य बिदेशी साथिहरु पनि थिए, हाम्रो बोटमा उनै नेपाली बसेका थिए गाइडको रुपमा।
"मेरो नाम किशोर श्रेष्ठ, घर सिन्धुपाल्चोक" थोरै औपचारिक भनौं मैले नाम सोधें, अनि कहिले आउनु भएको?  " म जुन महिनामा आएको" अनि कति समयको लागी हो? भन्ने सन्दर्भमा उत्तर आयो अब अक्टोबर को अन्तिमतिर जाने। मैले उत्सुक हुदै सोधें अनि धेरै नेपालीको चाहना हुन्छ जापान आउने यतै लुक्ने, बस्ने, कमाउने आदि... तपाईलाई त्यस्तो लागेको छैन? त्यसको जवाफ आयो " हामी यहाँ यसरि आउन थालेको १० ,१२ बर्ष भयो, म आफु चाहिं सन २००८ देखि आउन थालेको हुँ, प्रत्येक बर्ष हामी आउछौं, ३ देखि ६ महिना सम्म बस्छौं र फेरि फर्कन्छौं, हामी त्यस्तो सोच्दा पनी सोच्दैनौं हामी नेपालमै पनि रमाउछौं, परिवार र आफ्ना लागि पुग्ने रकम कमाउछौं त्यसैले बिदेश लुकेर केहि बढि रकम कमाइ हुन्छ भन्दैमा लुक्न मनले मान्दैन।" हुनपनी सानै देखि नदिमै रमाउदै आएका, खेलेका ज्यान, जसलाई आज त्यहि नदिले नै पालेको छ, नेपालका प्रायजसो नदिनाला जहा र्याफ्टिङ गर्न सकिन्छ त्यहाँ नपुगेको ठाउ सायद नहोला, त्यसको किनारमा हुर्केका रुख र बगरको वालुवामा पसिनाको गन्ध ताजैहोला, बिभिन्न देशका हजारौं पर्यटकलाई मनोरञ्जन दिन्छन, आफु पनि देश बिदेश घुमेका छन यहि सिप लिएर, उनिहरु नदिबाहिर कसरि पो रमाउन सक्दाहुन र!! यो काम उनिहरुको लागि मात्रै नभएर देशकै अर्थतन्त्रसंग पनि जोडिएको छ।
नेपालमा र्याफ्टिङ



यो नदी र्याफ्टिङ गराउने जति त्यस्तो ठुलो त कहाँ छ र, कतै कतै कृतिम रुपमा बनाइएका स्पिड क्यानलहरुमा केहि र्याफ्टिङको जस्तो अनुभुति मिल्ने अन्यत्रत तालमा डुंगा शयर गरे जस्तै, नेपालका भोटेकोशी, त्रिशुली, कर्णाली हरुमा खेल्दै आएकालाइ यो त असाध्यै सामान्य लाग्ने तैपनी जापानमा खासै त्यस्ता ठाउ नभएकाले यो सिजनमा यस्तै नदिले नै भरपुर आन्तरिक पर्यटक पाएकै छन, बिच बिचमा नेपालको पर्यटकिय क्षेत्रको बारेमा जानकारी दिदै यो क्रम चलिरह्यो करिब १ घण्टा। यसै क्रममा बोटमै केहि रमाईला अनि पारिवारिक कुराहरु पनी भए, ६ जनाको परिवारमा उहाँ बाबु आमाका दुइ भाइ मध्ये कान्छा छोरा हुनुहुदोरहेछ। नेपालमै छँदा बिभिन्न ट्राभल तथा ट्रेकिङ एजेन्सिका लागी काम गर्ने उनिहरु जापान आउदा मासिक १.५  देखि ३ लाख सम्म रुपैया बचत हुदो रहेछ। बर्षायाममा नेपालका नदिनालामा आउने बाढिका कारण ब्यबसाय बन्दहुने हुदा  त्यस समयमा यहा आएर नेपालको प्रचार र त्यस्तै काम गरेर बित्दोरहेछ, संगै रहेका गोरखाका मनध्जव गुरुङको जिवन पनि उसैगरि चल्दै छ, जुन टोली यसठाउँमा १२ जनाको रहेछ। उहाँका अनुसार जापान भरि करिब ३५० देखि ५०० जना नेपाली त्यसरिनै प्रत्येक बर्ष आउने र जाने गर्छन यस हिसाबले हेर्दा जापानको र्याफ्टिङ ब्यबसाय नेपालीले नै धानिदिएका रहेछन। जापान मात्रै नभएर विश्वका धेरै देशमा नेपाली पर्यटन उध्योगले धेरै सहयोग गरिरहेको रहेछ यसरीनै जसले गर्दा आफ्नो ब्यबसायका केहि कर्मचारीको आर्थिक पाटो मात्रै होइन पर्यटक बढाउन पनि सहयोग गरेकै छ।

जापानमा अन्य यस्तै काम गर्ने नेपालीहरु आउन चाहेमा कसरी आउन सक्छन त भन्ने कुरा चल्दा उहाले भन्नुभयो, त्यस्तो कुनै एजेन्सिहरु छैनन यो नितान्त ब्यक्तिगत संबन्धका आधारमा आउने हो, नेपाल गएका पर्यटकहरुले आफ्नो देशमा आफुलाई पनि यस्तै मानिस चाहियो भन्छन अनि उनिहरुसंगकै सम्पर्कका आधारमा शुरु हुन्छ बिदेश यात्रा, अहिले जापानको हकमा धेरै नेपालीहरु आउन थालिसकेकोले अब चाहि नेपालीहरुकै ब्यक्तिगत संपर्कले पनि मद्दत गर्नसक्छ। यस्तै कुराहरु गर्दै जापानी नदिमा नेपाली र्याफ्टिङ गरेर फेरि छिट्टैनै नेपालको कुनै नदिमा संगै र्याफ्टिङ गरौंला भन्दै छुट्टिएँ।

नेपालको पर्यटन ब्यबसाय बास्तबमै नेपालको आर्थिक मेरुदण्डको रुपमा छ, बिगतका केहि बर्षहरु छोडेर जुन समयमा यो लगभग निस्क्रिय बन्नु परेको थियो। नेपालीहरु बिदेश पुग्नासाथ शरणार्थी बन्न समेत ज्यान फालेर लाग्छन भन्ने सोच रहेको हाम्रो समाज जहा केहि यथार्थता पनि छ, त्यस्तो ठाउबाट आफ्नो देशमा मात्रै नभएर बिदेश केहि समय पुगेर पनि यहि क्षेत्रमा रमाउदै देशको पर्यटन बिकासमा टेवा दिने किशोर र मनध्वजहरुको जस्तै कथा बोक्ने सबै नेपाली दाजुभाइमा हार्दिक नमन।

(फोटोहरुः किशोर श्रेष्ठको फेसबुकबाट लिइएको)

You Might Also Like

0 comments: