गाईजात्रामा बिमानस्थलको रनवे र धज्जि उड्डयन बिभाग

August 29, 2013 Rishi Ram Parajuli 0 Comments

"कृपया ध्यान दिनुहोला, कृपया ध्यान दिनुहोला, हाम्रो फ्लाईट नं RA-402 बैंकक - काठमाडौं उडान अहिले काठमाडौं, त्रिभुवन बिमानस्थल को नजिक पुग्न लागेको जानकारी गराउँछौं, अबको ३० मिनेटमा हामि काठमाडौं पुग्नेछौं, यदि अब आधा घण्टा भित्रमा रनवे नबिग्रेमा हामी सफल अबतरण गर्नेछौं, तर रनवे बिग्रिहालेमा हाम्रो जहाज अबतरण गर्न सक्ने छैन तसर्थ यात्रु महानुभावहरुको अमुल्य समयको ख्याल गर्दै नेपाल सरकार द्वारा उपलब्ध मनोहरा फाँटमा रहेको प्याराल्यान्डिङको लचकदार नेटमा प्यारासुटको सहयोगमा तपाईहरुले साहसिक अबतरण गर्नुपर्नेछ। कृपया आफ्नो सिटको तल्लो भागमा रहेको प्यारासुट भिर्न तयारी अबस्थामा बस्नुहुन सबै यात्रु महानुभावहरुमा अनुरोध छ। प्याराशुट भिर्ने तरिका हामीले तपाईलाई देखाउनेछौं, त्यसै अनुसार गर्नुहुन अनुरोध छ। आशा गरौं हाम्रो अबतरणहुने बेला सम्म रनवे बिग्रिने छैन। पशुपतिनाथले हामी सबैको रक्षा गरुन। धन्यबाद।" यी वाक्यहरु काठमाडौं आउने सबैजसो हवाईजहाजका परिचारिका वा पाईलटले यात्रुहरुको लागी जानकारी दिदा बोल्ने सम्बाद रहेछ फ्लाईट नंबर र रुट बाहेक लगभग एकै।

गाईजात्रा प्रेतात्मा र पितृ खुशी पार्नका लागि मनाउने चलन छ भनिन्छ तर पछिल्लो समयमा यसको साथसाथै हास्यब्यंगको क्षेत्रमा रमाउने कलाकारहरुले प्रस्तुत गर्ने प्रहसनले समसामयिक बिषयबस्तुमाथि पनि ब्यंग गर्ने गर्छ। अहिलेको गाईजात्रे कार्यक्रमहरुमा यो बिषय त सायद उठेको छैन कि? तर पनि बिभिन्न मिडियामा यसले ठाउँ पाइराखेकोछ। गाईजात्राकै दिन राती सपनिमा मैले यस्तो प्रहसन देखें र लेख्दैछु।
प्रहशनको शुरुवात एउटा पत्रिकामा निस्केको टेन्डर संबन्धि सुचना पढ्दै शुरुहुन्छ, एउटा चिटिक्क परेको अफिस कोठामा, कार्यालयको सहायक ब्यबस्थापक भनिने एउटा ब्यक्ति त्यो सुचना उसको हाकिमलाई पढेर सुनाउँछ र हाकिमले टाउको हल्लाउदै सुन्छ र पत्रिका हातमा लिन्छ। अफिसको बाहिरपट्टी ठुला अक्षरमा ABC Construction लेखिएको छ।
त्यस कम्पनिको हाकिम फोन घुमाऊँछ र कुरा गर्छ "हाकिमसाप हाम्रो अस्तिनै कुरा भएको कामको आज बल्ल पत्रिकामा टेण्डर सुचना निकाल्ने फुर्सद पाउनुभयो? जेहोस ठिकैछ, हाम्रो कुरा भएको अनुसारनै हुनुपर्छ है, मैले कुनै नेतालाई फेरि भन्नु पर्ने नबनाउनुहोला ंमैले तपाईकै अगाडी मन्त्रिसंग त कुरा गरिसकेको हो नि" यसैबिचमा टेण्डर सुचना देखिन्छ जुन बिमानस्थलको रनअवे मर्मतको लागी आह्वान गरिएको बोलपत्र हुन्छ.... "मैले चिनियाँ पाटीसंग पनि कुरा गरिसकेको छु, हामि उसको सबै कागजपत्र पठाउन आजै कुरा गर्छौं र हाम्रो पनि आबश्यक बिलहरु सबै तयारि हुदैछ २-४ दिनमै पुरा हुन्छ"......... "हुन्छ त्यसै गरौं है, त्यहि ३०% गरौं है त्यो भन्दा त सकिने स्थिति छैन"। यति भनेर फोन राखे, बिचबिचमा उताबाट के भनियो त्यो चाहि सुनिएन।

क्यालेण्डरमा टेण्डर बुझाउने अन्तिम मिति देखिन्छ, अनि फेरि मोबाईलमा फोन होईन मेसेजटोन आउछ, यसो मोबाइल हेर्दै टेण्डर डकुमेन्टमा आफुले राख्ने जम्मा रकमबारे उनले कर्मचारीलाई निर्देशन दिन्छन र कर्मचारीहरु सबै कागजपत्र तयार गरेर ४ बजे टेण्डर बुझाउन पुग्छन जहाँ लेखिएको हुन्छ "धज्जि उड्डयन बिभाग"।
३ दिनपछि टेण्डर खोलिन्छ र प्राबिधिक रुपमा बढि नंबर ल्याउने ५ कम्पनि छानिन्छन जहा त्यो कम्पनि पनि परेको हुन्छ, किनकि उसले दक्ष प्राबिधिकका बायोडाटा चाहिने जति मागेर वा बनाएर राखेको थियो, मेशिनरि सामानहरुको नक्कलि बिल तयार गरेको थियो जसले गर्दा प्राबिधिक रुपमा उ बलियो देखिएकै थियो। अब यिनै ५ कम्पनिको मात्र आर्थिक बोलपत्र खोलिने भयो र खोलियो जसमा सबै भन्दा कम रकम कबोल गर्ने ABC Construction ले नै ठेक्का पायो।
ठेक्काको अन्तिम टुंगो लागेको दिन बेलुकी गोप्य पार्टिको आयोजना भयो जहा मन्त्रि, कार्यालयका हाकिम, मुख्य ईन्जिनियर र ठेकेदार सहभागी थिए। बिदेशी ह्विस्किले रगतमा नशा चढाउदै गएपछि नेताजी भन्दै छन "हेर्नुस अब चुनाब आउन लाग्दैछ त्यसैले मलाई ५ करोड जति सहयोग गर्नै पर्छ है तपाईलहरुले, के कसरी मिलाउनु पर्छ मिलाई हाल्नुस"। ठेकेदार भन्दै थिए "हाम्रो कुरा भईसकेको हो मन्त्रिज्यु तर यति गर्न त अलि गार्हो हुन्छ नि, यसैपनी ३०% कुरा भईसकेकैहो अझै बढाउन त गर्हो हुन्छ नि"। "तपाई कामको चिन्ता नलिनुस म ईन्जिनियर सापलाई भनिहाल्छु, त्यो के छ कि त्यसमा अहिले पनि जहाज त बसेकै छन, हेर्नुस बस अलिअलि माथि माथि सडक कालो पत्रे गरेको जस्तै गर्नुस अनि त तपाई पनि मालामाल हाम्रो पनि चुनाव खर्चको जोहो, जहाज त आईहाल्छ, बसिहाल्छ के नै फरक पर्छ?, हँ हामि संग कच्चि एअरपोर्ट त छन जहा जहाज बस्ने गरेकै छ त यो त धेरै पक्कि छ नि, त्यो टेस्ट वेस्ट के  भन्छ त्यो जे जे गर्नु पर्छ सबै गरेर पुर्याईदिनुस, कागजमा सबै हुनुपर्यो, जहाज आईरहने ठाउमा काम पनि राति नै हुने हो, कसले देख्छ त्यहाँ, अनि पछी पनि को जान्छ त्यहा कस्तो भयो हेर्न? त्यसैले कुनै चिन्ताको बात छैन, बस रनवे कालोपत्र, हाम्रा गोजिमा नोटका पत्र हाहाहाहाहा...." मन्त्रि ज्युको हासो संगै सबैजनाको नशा मिश्रित हासो केहिबेर गुन्जन्छ।
रनवे मर्मतको काम अघी बढ्न थाल्छ, कालो पत्रे नाम मात्रको हुन्छ, बिटुमिनको गुणस्तरको कुरै नगरौं, रोडाको त झन के कुरा गर्नु माटैसहितको देखिन्छ। बिचमा पार्टिहरु भईरहन्छन उस्तै प्रगति बिबरणको कुरा, काम केहि मात्रामै भएपनि राम्रो गराउन खोज्ने ईन्जिनियरको सरुवाको कुरा यस्तै यस्तै अनि किस्ताबन्दि चुनाब खर्च र घर खर्च पनि संगसंगै। अन्तिम पार्टि रनवेको हस्तान्तरणको दिनमा हुन्छ र बाकि हिसाब मिलान पनि त्यहि दिन हुन्छ। मन्त्रि जि पनि खुशि देखिन्छन, भन्दैछन "काम त तपाईले हराम नै गर्नुभयो तर के छ कि यो चाडै भत्किहाल्ने त होईन नि?" ठेकेदार पनि के कम "के को चिन्ता हजुर अब केहि पर्यो भने अन्यकेहि कुरामा मोडौंला नि".....
काम सकिएको ८ महिना भयो एक्कासि रनवेमा खाल्डो देखियो, अनि फ्लाईटहरु डाईभर्ट गरिए, कुनै होल्ड गराईए, छिटो छिटो प्वाल टाल्ने काम भयो, राति फेरि मर्मत गरियो, भोलि फेरि उस्तै, पर्सि फेरि उस्तै, यो क्रम नरोकिने भयो, अब फेरि मिटिङ बस्यो र के गर्ने भन्ने छलफल भयो, जनतालाई यसको बारेमा के थाहा हुन्छ र जे भने पनि पत्याईहाल्छन नि भन्दै बिभिन्न बुदाहरुमा भएको छलफलले निम्न निश्कर्ष निकाल्यो,
१) रनवे फेरि भत्किनुको कारण यहाँ ठुला जहाज अबतरण गरेकाले किनकि नेपालीको लागि ठुला जहाज किन चाहियो भनेर हामिले साना जहाजको लागि मात्र डिजाईन गरेको तर यहाँ ठुला जहाज आइदिनाले छिटो भत्किन पुग्यो।
२) एअरपोर्टको जियोलोजि कमजोर रहेको र जमिन मुनिको पानि माथि सम्म आईदिएको कारणले पिच भत्केको हो।
यसको समाधानका लागि यि ऊपाय अबलम्बन गरिने छ।
१) बिमानस्थलको रनवे नियमित मर्मत गरिने छ।
२) रनवे बिग्रिहालेको अबस्थामा यात्रु झराल्नको लागि एअरपोर्ट नजिकै मनोहराफाँटमा प्यारासुटबाट यात्रु झराल्न मिल्ने गरि प्याराल्यान्डिङको निर्माण ३० दिन भित्रैमा हुनेछ।

यसपछि पर्दा बन्द हुन्छ अनि जहाजको आवाज आउछ। अनि पर्दा भित्रैबाट कतै परिचारिकाको स्वरमा शुरुका बाक्यांश सुनिन्छन र प्रहसन सकिन्छ। दर्शक दिर्घाबाट तालिको गड्गडाहट आउछ।

(बास्तबिक घटना संग मेल खान गएमा खुच्चिङ नै  भन्न नहुने हो कि तैपनि खुच्चिङ :) :) )

You Might Also Like

0 comments: