सम्झनामा साझा बस (कथा)

March 06, 2013 Rishi Ram Parajuli 0 Comments

हिजो बेलुकी खाना खाएर इन्टरनेटमा देशको समाचार हेर्दै थिएँ, बिदेशिएको मनले समाचारको खुराक पाउने अनलाइन मिडिया बाट नै हो जुन आफ्नो समय अनुसार मिलाएर हेर्न पनी पाइने त्यसैले त मैले त्यो पुरानो समाचार हेर्दै थिएँ। हुनत म एकदमै फुर्सदिलो छु केहि दिन देखि अरु केहि हप्ताको लागि, किनकी कुनै पनि कार्यलाइ अन्तिम रुप दिन मैले पनि अन्तिम दिन र अन्तिम समय नै कुर्ने गरेको छु (जुन कुरा सायद नेताहरुको कार्यशैलीकै छाप पो परेछकी ! जसको छाया सम्म नपरोस् भन्ने मेरो चाहना हो), तरै पनि मेरा लागी समाचारहरु नयाँ नै थिए। अचानक मेरा आँखा एउटा समाचारमा अडिए,  राजनितिक समाचार त मैले हेर्नै छोडेको छु त्यसैले त्यसमा त अडिने कुरै भएन त्यो समाचार साझा बस संग सम्बन्धित थियो (साझा बस यहि चैत्रबाट फेरि संचालनमा आउने)। यो समाचार पढ्दै जादा मेरा मानसपटलमा पुराना दिनको झझल्को एक एक गरी आउन लागे।
मैले पहिलो चोटि चढेको साझा बस
गोरखा जिल्लाको दुर्गम गाऊँमा जन्मी हुर्केको मैले बस चाहि ३ बर्षकै उमेरमा देखेको थिएँ, सदरमुकाममा जग्गा पास गर्न मालपोत कार्यालय आउदा तर चढ्ने मौका चाहि १० बर्षको उमेरमा मात्र मिलेको थियो। बस चढ्ने कौतुहलता पुरा हुने एउटा बाटो मैले ५ कक्षा पास गर्नु पर्ने थियो, कक्षा ५ सम्म स्कुलमै निशुल्क किताब पाइने तर ६ कक्षाबाट आफै किन्नु पर्ने, दाजु काठमाडौमा बस्ने हुनाले किताब किन्न म आफैं काठमाडौ जान पाँउथें, त्यहि दिन कुर्नु पर्यो मैले मेरो मन शान्त पार्न। जब ५ कक्षाको परिक्षा सकियो अनि म काठमाडौ जाने साथी खोज्न लागें, त्यसबेला कोहि मानिस काठमाडौ जादै छ भन्ने कुरा ३-४ दिन पहिले नै हल्ला हुन्थ्यो उसले अन्य गाउँलेका पनि चिठीपत्र तथा कोसेली लगिदिने चलन थियो।
गोरखाबाट काठमाडौ दैनिक ३ पटक बस लाग्थ्यो, बिहानीमा ६ः१५ र ७ः०० बजे अनि दिउसो १ः०० बजे जुन काठमाडौबाट आएको पहिलो बस उतै फर्किने गर्थ्यो। गाउँबाट करिब ३-४ घण्टाको पैदल हिडेर पुगिने तेर्हकिलोमा बिहानको बस चढ्न छिट्टै निस्किनु पर्ने त्यसैले अघिल्लो दिन म निदाउन सकेको थिइन, मन मनै बस चढ्ने रहर पुरा हुन लागेकोमा दंग अनि उत्साहित थिएँ, बिहानी ३ बजे नै उठेर सामान्य खाना खाएर हाम्रो टोली काठमाडौको लागि प्रस्थान गरेको थियो। साझा बसको टिकट गोरखामा बस्ने कसैलाइ लिन भनिन्थ्यो त्यसैले त्यहि दिन जान सकिन्थ्यो अन्यथा गोरखा अघिल्लै दिन आएर टिकट लिनुपर्ने बाध्यता थियो। यसरी पहिलो पटक बस चढ्दाको क्षण मैले कहिल्यै भुलेको छैन। निलो रंगको, दुइवटा ढोका भएको  जापानीज बस, बाटोमा नबिग्रने, भरपर्दो सबै विशेषण यसमै लाग्थ्यो, जुन उकालोमा अरु सवारी साधनलाइ पछि पार्दै जान्थ्यो त्यसमा चढेर थानकोट पुग्दा मैले सपनाको शहर पहिलो पटक दृश्यानुभव गरेको थिएँ। काठमाडौ जादा मात्र नभइ फर्कन पनि हामीले यसकै सेवा लिन बिहान ५ बजे नै हरिहरभवन अगाडी पुगिसक्थ्यौं। मलाइ लामो दुरीमा चल्ने साझा बस मात्रै छ जस्तो लाग्थ्यो केहि बर्षसम्म, जसले मेरा केहि बार्षिक कान्तिपुर यात्रा सफलताका साथ पुरा गरायो।
काठमाडौ-ल्हासा चलेको साझा बस
यसरी मेरो पहिलो अनुभब मात्रै भन्दापनि जनताको सेवकको नाताले साझा प्रति मेरि अगाढ माया अनि भरोसा थियो र अझै पनि त्यो नाममा सधै रहनेनैछ। तर एकाएक देशमा आएको लथालिंगे प्रबृत्तिको सिकार हुनबाट यो पनि बच्न सकेन, ड्राइभर खलासी तथा अन्य कर्मचारीका घर बन्दै गए तर उसले आफ्ना लिगपात गुमाऊँदै जानु पर्यो। यसैबिचमा एकपटक फेरि अन्तर्राष्ट्रिय सेवा सहित पुनर्जिबन पाएर पनि आफ्नो ब्राण्ड बेच्ने बाहेक त्यस्तो खासै उपलब्धि हुन सकेन।अहिले फेरि नया सोच र ब्यबस्थापन सहित आफुलाइ ब्युताउन लागेको खबर पढ्दा मनमा अब्यक्त खुशीले निकैबेर राज गर्यो। यस्तै सम्झनाका तरेलीहरु मनमा खेलाउदै आफुलाइ निन्द्रादेवीको काखमा कतिबेला सुम्पेछु थाहै भएन।
सायद मिठा अनुभुतिका साथ निदाएकोले होला रातभरि पनि मिठो सपनीमै सही साझा बसको शयर गर्ने अबसर मिल्यो। मेरो बसाइ कलंकीमा थियो अनि कार्यस्थल चाहि कुपन्डोल, मेरो आफ्नै सबारीसाधन लिएको छैन किनकी मेरो लागी सार्बजनिक बसको यात्रा नै सुलभ लागेको छ। १० बजे अफिस पुग्नु पर्ने म ९ः३० मा बल्ल कलंकी चोकमा निस्कन्छु, म संग साझा बसको तालिका छ त्यसैले म बस आउनु भन्दा मात्र १ मिनेट अगाडि पुग्ने गर्छु। सधैंझैं आजपनि मेरो आफ्नै सवारी आइपुग्यो आफ्नै समयमा, यसलाइ कसैले पनि खोट लगाउन सक्दैन समयको लागी आजसम्म बढिमा १ मिनेट भन्दा ढिलो गरेको मलाइ थाहा छैन। बस स्टपमा बसको समय तालिका राखिएको छ, बस आफ्नै समयमा आइपुग्यो, अगाडी ढोकाबाट पालैपालो यात्रुहरु भाडा खसाल्ने मेशिनमा पैसा खसाल्दै बा प्रिपेड टिकट मेशिनमा छुवाऊँदै झर्दैछन्, ड्राइभर मिठो मुस्कान छर्दै बिदाइ गर्दैछिन।
सपनीमा देखेको र बिपनिमा गुड्ने सबैको साझा बस
 बसमा चढ्न मानिसहरुमा कुनै तछाडमछाड छैन सबै आफ्नो लाइनमा छन, बिध्यार्थि तथा बृद्द हरु आफ्नो छुट सहितको मासिक टिकट पछाडीको चढ्ने ढोकासंगै राखिएको मेशिनमा छुवाऊँदै चढ्दैछन, अन्य दैनिक प्रयोग गर्ने यात्रुहरुपनी प्रिपेड टिकट लिएकाले त्यसैगरी प्रयोग गर्दैछन् म पनि तिनै मध्ये परेको छु। एकजना अधबैशे महिला बस हाँकीरहेकि छिन्, उनले लगाएको कालो टोपी, सेतो सर्ट जसमा साझाको लोगो टासीएको छ अनि कालो पाइन्ट हेर्दा निकै सभ्य अनि पेशेवर देखिन्छीन्। मैले बसमा मानव कन्डक्टर खलासी देखेको छैन सबै मेशिनले नै गर्दै छ, कुनै पनि यात्रुले छलछाम गरेको सुनिएकोछैन। प्रत्येक स्टपमा यात्रु चढाउन र ओराल्न बाहेक अन्यत्र रोकिने गर्दैन त्यसैले त म आफ्नै समयमा पुग्ने गरेको छु। यसरी नै मैले दैनिक यात्रा गर्दै आएको छु र सन्तुष्ट छु अनि गौरवान्वित पनी आफ्नै बिगत सम्झदै। यसरीनै रमीरहेको म बसमै निदाएछु र सपनिको सपनामा हराएको म आफ्नो स्टप नजिकै आउन लागेकोले झल्यास्स बिऊँझिदा  आफ्नै बिछ्यौनामा रहेको चाल पाएँ र एकछिन फेरि टोलाएँ।



You Might Also Like

0 comments: